नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गाको उबुँमा किरातको ढ्वाङकुमो पर्व, प्रदेश नं. १ को नाम किरात राख्न माग

ओखलढुङ्गान्युज, भदौ २ ओखलढुङ्गा । ओखलढुङ्गाका वाम्बुले राई किरातहरुले आफ्नो महान् पर्व ढ्वाङकुमो मनाएका छन् । ढ्वाङकुमोको अवसर पारेर आयोजना गरिएको बृहत सास्कृतिक कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताहरुले लामो समय देखि बहसमा रहेको प्रदेश नं. १ को नाम किरात प्रदेश राख्न माग गरेका छन् । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. २ उँबुमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वाम्बुले राई समाज (वाम्रास) का केन्द्रिय उपाध्यक्ष शुभचन्द्र राईले प्रदेशको नाम किरात प्रदेश राख्न माग गर्नुभएको छ । सबैको प्रतिनिधित्व हुने र सबैले अपनत्व महसुस गर्ने भएकाले १ नम्बर प्रदेश किरात प्रदेश हुनुपर्ने उहाँको भनाई थियो । हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रम गरी राजधानी र अन्य ठाँउमा ढ्वाङकुमो चाड मनाउँदै आएको भएपनि यसवर्ष किरात प्रदेश नामाकरणका लागि दवाव दिन ओखलढुंगामा कार्यक्रम गरिएको उनले बताए ।

त्यसैगरि वाम्रासका अध्यक्ष गजुरधन राईले किरात शब्दले कुनै एक जात वा वर्गको मात्रै प्रतिनिधित्व गर्छ भनेर नागरिकमा भ्रम छरिएको बताए । तर त्यो भ्रम मात्र भएको भन्दै भन्दै किरात शब्दले पहिचान र संस्कृती दर्शाउने भएकोले प्रदेश नं. १ को नाम नै किरात राख्न भनिरहेको उहाँको भनाई थियो ।

सम्बोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खाका अध्यक्ष दिवेश राईले प्रदेश नम्बर १ को नाम किरात प्रदेश नराखे आन्दोलन गर्ने चेतावनी दिनुभयो । लाखौंको हस्ताक्षर संकलन गरेर प्रदेश सभामा बुझाई सकेकाले किरात प्रदेश बन्नेमा आफुहरु ढुक्क रहेको पनि उहाँले बताउनुभयो । यदि आफुहरुको माग सम्बोधन नभए जिल्ला जिल्लाबाट आन्दोलन गर्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गर्नुभयो ।

किरात समुदायका अगुवाहरुले किरात प्रदेश माग गरेपछि कार्यक्रमलाई सम्बोधन गर्ने राजनितिक दलका नेताहरु बिच जुहारी चलेको थियो । प्रदेश नं. १ का अर्थ समिति सभापति मोहन कुमार खड्का हिमशिखरले किरात प्रदेशका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । आफुले किरात प्रदेश नामांकरण गर्नुपर्छ भनेर सांसद भएपछि मात्र नभनेको भन्दै हिँजो युद्ध लड्दा देखि नै आफ्नो समर्थन किरात प्रदेशको पक्षमा रहेको बताउनुभयो । सांसद समेत रहनुभएका खड्काले आफुले भनेकै हुन्छ भन्ने कुराको गायरेन्टी नभएपनि  किरात प्रदेश नामाकरणका लागि भने आफ्नो प्रयास जारी रहने बताउनुभयो । विगतमा किरात प्रदेश भन्दा विरोध जनाउने कांग्रेसका नेताहरुले अहिले किरात प्रदेश नपाए आन्दोलन गर्ने चेतावनी दिने गरेको पनि सांसद खड्काले बताउनुभयो ।

संबिधान सभाका सदस्य एवम् ओखलढुङ्गा कांग्रेस नेता रामहरि खतिवडाले किरात प्रदेशका लागि कांग्रेसको समर्थन रहने बताउनुभयो । १ नम्बर प्रदेशको प्रदेशसभामा नेकपाको २ तिहाई बहुमत भएको बताउदै नेता खतिवडाले कांग्रेसले चाहेर मात्रै केही नहुने तर नेकपाले प्रस्ताव गर्छ भने कांग्रेसको पूर्ण समर्थन गर्ने बताउनुभयो । बहुमतले नभई सर्वसम्मत प्रदेशको नाम राख्न प्रदेश सभालाई नेता खतिवडाले सुझाव दिनुभयो ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य तथा संघिय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले प्रदेशको नामाकरणका विषयमा आफ्नो भूमिका नरहने बताउनुभयो । आवश्यक महशुश भएमा विवाद नहुने र पहिचान झल्काउने गरि प्रदेशको नामाकरणका विषयमा पार्टी भित्र छलफल गर्न सकिने बताउनुभयो । पार्टी संगठनमा छलफल चलेमा प्रदेशको नाम राख्ने विषयमा आफुले सकारात्मक भूमिका निर्वाह गर्ने समेत बताउनुभयो । सांसदहरु यज्ञराज सुनुवार र मोहन कुमार खड्का हिमशिखरले किरात प्रदेश भएमा गैरकिरातहरुले मन दुखाउनुपर्ने र किरात प्रदेश हुँदैमा किरातीहरु बढि हौसिनुपर्ने कारण नरहेको बताउनुभयो ।

राष्ट्रिय गानका रचनाकार व्याकुल माईलाले पनि सबैको साझा फुलबारी भनेर चिनिने देशमा जातजाती  भाषा धर्मका बिचमा विवाद गर्न नहुनेमा जोड दिनुभयो । किरात एउटा सभ्यता भएकाले किरात प्रदेश नाम राख्दा उपर्यूक्त हुने उहाँको तर्क थियो ।

दिउसो अबेर सम्म किरातीहरुको ढुवाङकुम पूजामा व्यस्त भएका कारण सांस्कृतिक कार्यक्रमको उद्घाटन ढिला सुरुभएको थियो । रात परेपछि सुरुभएको सांस्कृतिक कार्यक्रमलाई राष्ट्रिय स्तरका कलाकारहरुले रातभर तताएका थिए ।