नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुङ्गाका जिल्ला समन्वय प्रमुख विरुद्ध सांसदको उजुरी

विवेश श्रेष्ठ, साउन २० ओखलढुङ्गा । ओखलढुङ्गामा जिल्ला समन्वय समिति (जिसस) का विरुद्ध उजुरी परेको छ ।नेकपा ओखलढुङ्गाकाअध्यक्ष एवम् सांसद मोहन कुमार खड्का हिमशिखरले जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ विरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो ।

भूकम्प पीडितहरुलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्य बराबरको राहत सामग्री जिससका प्रमुखले मनपरी ढंगले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको सांसद खड्काले बताउनुभयो ।

उजुरीमा जिल्लाका विभिन्न ठाउँमा रहेका राहत सामग्री भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ । गत असारमा ओखलढुङ्गामा वर्षादको कारण ५ को मृत्यु र दर्जनौं घरपरिवार बिस्थापित भएका छन् । विपदको समयमा जिल्लामा राहत सामग्री अभाव भएपछि जिसस मातहतमा रहेको सामग्रीको खोजी भएको हो ।

जिसस प्रमुख श्रेष्ठले आफु आबद्ध दल नेपाली कांग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई करोडौँको राहत सामग्री आफुखुसी वितरण गरेको तर विद्या परेकाहरुलाई राहत चाहि अभाब भएको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुंगाले जनाएको छ ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यबराबरका राहत सामग्री जिससले मनपरी ढंगले वितरण गरेकाले छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको सांसद खड्काले बताउनुभयो ।

भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको करिब आठ हजार थान त्रिपाल र समन्वय कार्यालय परिसर र रुम्जाटारमा रहेको ठूलो परिमाणको तारजाली जिससले मनोमानी ढंगले बाँढेको नेकपाले दाबी छ । तत्कालीन सबै राजनीतिक दलहरूको सहभागितामा सगरमाथा जनता माध्यमिक विद्यालयको एउटा कक्षा कोठामा आठ हजार थानभन्दा बढी त्रिपाल र कम्बल राखिएको थियो । तर अहिले एक थान पनि नरहेको तत्कालीन जिल्ला विपत् व्यवस्थापन समितिका सदस्य तथा नेकपा सचिवालय सदस्य नेत्रप्रसाद भट्टराईले बताउनुभयो । स्थानीय सरकारका प्रमुख र दलहरूसँग छलफल नगरी समन्वय समितिका पदाधिकारीहरूले आफ्नो निजी सम्पत्ति झै मनोमानी ढंगले बाडेर सकाएको भट्टराईको भनाइ छ ।

त्यस्तै, स्थानीय सडक सहयोग कार्यक्रम (एलआइआरपी) र स्विस सरकार विकास नियोग (एसडिसी) ले समितिलाई जिम्मा लगाएको हजारौँ थान जालीका विषयमा पनि नेकपाले चासो देखाएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करिब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपादर्शी ढंगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय तहहरूलाई सहभागी नगराई एकलौटी ढंगले समन्वय समिति प्रमुखले कांग्रेस कार्यकर्ताहरूलाई तारजाली बाढिएको श्रेष्ठको आरोप छ । समन्वय समितिले बाँडेको तारजालीको सदुपयोगभन्दा बढी दुरुपयोग भएको मेयर श्रेष्ठको दाबी छ ।

नेकपाको आरोप तथा उजुरीका बारेमा धारणा बुझ्न खोज्दा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताउनुभयो । आफु अहिले जिल्ला बाहिर रहेको र जिल्लामा फर्किए पछि सबै कुरा जानकारी गराउने पनि श्रेष्ठले बताउनुभयो ।

गत साउन १६ मा बसेको नेकपाको जिल्ला सचिवालय बैठकमा जिसस मातहतमा रहेको राहत सामग्री समन्वय प्रमुख जयबहादुर श्रेष्ठसहित जिससका अन्य जनप्रतिनिधि र कर्मचारीले आफन्तलाई बाँडेको विषयमा छलफल भएको थियो ।