नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

 सेवा प्रवाहका बारेमा ओखलढुङ्गाका नागरिक समाजले अवलोकन गर्ने

ओखलढुङ्गान्युज, असार ३, ओखलढुङ्गा । ओखलढुङ्गाका नागरिक समाजका संस्थाहरुले सामुदायीक विद्यालयको शिक्षा र स्वास्थ्य चौकीवाट प्रदान हुदै आएको सेवाको वारेमा अवलोकन गर्ने भएका छन् । आज ओखलढुङ्गामा सोच नेपालको समन्वयमा भएको नागरिक समाजका संस्थाहरुको जिल्ला समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।

सामुदायीक विद्यालयमा पढाईको गुणस्तर खस्कदो अबस्थामा रहेको आरोप सामुदायीक विद्यालयहरुले खेपी रहेका छन् । भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालयको पूननिर्माणको काममा ढिलाई हुदा बालबालिकाहरुले खुला आकाशमुनी बसेर पढ्नु परेको समाचारहरु पनि सञ्चार माध्यमहरुमा आईरहेका छन् । स्वास्थ्य चौकीहरुवाट नागरिकहरुले पाउनुपर्ने निशुल्क सेवा सुबिधा पाउन नसकेको भन्ने गुनासोका कारण त्यसको बास्तविक अवस्थाको बारेमा अध्ययन गरि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्धेश्यले अवलोकन गर्न लागिएको हो ।

नेपालको संबिधानमा नै नागरिकहरुको मौलिक अधिकारको रुपमा रहेको शिक्षा तथा स्वास्थ्य सेवा लिन नागरिकहरुलाई समस्या भएको तथा त्यसको लागि सेवा प्रदायक निकाय पनि मौन बसेको भन्ने आरोप नागरिकहरुले लगाउदै आएका छन् । विद्यालयमा शैक्षिक गुणस्तर भएन भन्दै सामुदायीक विद्यालमा विद्यार्थीको संख्या दिनानुदिन घट्दो क्रममा छ । सरकारले लगानी गरेको विद्यालयको शैक्षिक गुणस्तरलाई कायम गराउन र सामुदायीक विद्यालय प्रति नै नागरिकहरुको आकर्षणलाई बढाउन आवश्यक सुझाब संकलन समेत गर्ने उद्देश्यका साथ कृयाशिल सामाजिक संघ संस्थाहरुले अवलोकनको कार्यक्रम राखेको नागरिक समूह सञ्जाल ओखलढुङ्गाका जिल्ला अध्यक्ष सचना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नागरिक समाज संस्थाका प्रतिनिधीहरुले अवलोकन पश्चात आएको निष्कर्ष र सुझाबलाई समेटेर शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्ने बुदाँ सहित सम्बन्धित निकायको ध्यानाकर्षण गरिनेछ ।

जिल्ला सञ्जालको मंगलवार बसेको बैठकले संघिय संरचनाको निर्माण पश्चात ओखलढुङ्गामा लक्षित वर्गका लागि छुट्याउनु पर्ने बजेटमा कमी आएको भन्दै आगामी आर्थिक वर्षबाट सबै स्थानीय तहवाट बजेट विनियोजनका लागि समन्वयकारी भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दै जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध पत्र समेत बुझाउने निर्णय गरेको छ । त्यस्तै सेवा प्रदायक निकायले प्रत्येक तिन तिन महिनामा सार्वजनिक गर्नुपर्ने २० प्रकारका सूचनाहरु हालसम्म पनि जिल्लामा कुनैपनि कार्यालयको तर्फवाट सार्वजनिक गर्ने कार्य नभएकोले त्यसको लागि पनि पहल गर्ने निर्णय भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा ओखलढुङ्गा नागरिक समूह सञ्जालका सदस्यहरु, ओखलढुङ्गामा कृयाशिल गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । बैठक सोच नेपाल ओखलढुङ्गाको समन्वयमा सम्पन्न भएको हो ।