नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा स्कोरपियो दुर्घटना, ८ घाइते, दुईको अवस्था गम्भीर

ओखलढुङ्गान्युज, जेठ ३२ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिकामा स्कार्पियो दुर्घटनामा परेको छ । मानेभञ्याङ्ग गाउँपालिकाको वडा नं. ६ डढुवा भन्ने स्थानमा दुर्घटना हुदा स्कोरपियो स्कार्पियोमा सवार ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

शनिवार विहान सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ५८४० नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो । स्कार्पियोको ब्रेक फेल भएर सडकको भित्तामा ठोकिएर पल्टिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाईते भएकाहरु मध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सुनकोशी गाउँपालिका वडा नं. १० का अन्दाजी ३६ बर्षीय उत्तम गिरी र दाङ स्थाई घर भएका सुनकोशी ७ बस्ने ३२ बर्षीय शिक्षक चित्र बहादुर चौधरी रहेका छन् । उनीहरुको उदयपुरको घूर्मी स्थित आस्था मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको पनि प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सवारी चालक मोलुङ गाउँपालिका ३ का ३९ बर्षीय लिला बहादुर पोखरेल सहित ८ जना सवार स्कारपियो तीब्र गति भएको अवस्थामा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको दाबी छ । यद्धपी घटनाको वास्तविक कारण बारे केही खुल्न सकेको छैन । दुर्घटनामा परि अरु घाइते भएकाहरुको घूर्मी स्थित आस्था मेडिकल हलमा उपचार भैरहको पनि प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । गम्भिर घाईते भएकाहरुको अहिले काठमाण्डौको मेडिकियर सिटि अस्पतालमा उपचार भैरहेको परिवार श्रोतले जानकारी दिएको छ ।