नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

शनिवार ओखलढुङ्गामा मैत्रीपूर्ण फुटवल, कसले जित्ला ?

विवेश श्रेष्ठ, जेठ २७ ओखलढुङ्गा । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटवल खेल आगामी शनिवार हुने भएको छ । गणतन्त्र दिवस २०७६ को अवसर पारेर गणतन्त्र दिवस मूल समारोह समिति ओखलढुङ्गाले जेठ १६  गते मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको थियो । विशेष कारणवस उक्त दिन सञ्चालन हुन नसकेको मैत्रीपूर्ण खेल आगामी शनिवार अर्थात जेठ ३२ गते हुने भएको हो ।

विभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधी तथा पत्रकारहरु सहित आईतवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्बपक्षिय बैठकले आगामी शनिवार मैत्रीपुर्ण खेल सञ्चालन गर्ने निर्णय गरेको हो । मैत्रीपूर्ण खेलमा जिल्लाका कार्यालयका कर्मचारी प्रमुखहरुको एक टिम, गैरसरकारी संस्थाको जिल्ला समिती तथा उद्योग वाणिज्य संघ जिल्ला समितिको एक टिम, निर्वाचित जनप्रतिनिधीहरुको एक टिम र नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका पत्रकारहरुको एक टिम गरि चारओटा टिमले सहभागीता जनाउने छन् ।

आज भएको सर्वपक्षिय वैठकले मैत्रीपूर्ण प्रतियोगितामा सहभागीता जनाउनेहरुको सीमा समेत निर्धारण गरेको छ । प्रतियोगितामा जनप्रतिनिधी भन्नाले वडा अध्यक्ष देखी संघिय प्रतिनिधीसभाका सांसद सम्मलाई मात्रै जनाउनेछ । राष्ट्रसेवक भन्नाले अफिसर वा सो भन्दा माथिका कर्मचारी तथा गैर सरकारी संघसंस्था भन्नाले गैसस जिल्ला कार्य समितिमा संलग्न वा सोभन्दा माथि रहेका व्यक्ति र उद्योग वाणिज्य संघका जिल्ला कार्य समितिमा संलग्न व्यक्तिहरु मात्रै संलग्न हुन पाईने छ । त्यस्तै सञ्चारकर्मी भन्नाले पत्रकार महासंघको सदस्यता प्राप्त गरि ओखलढुङ्गा जिल्लामा कार्यरत व्यक्तिहरुलाई मात्रै जनाउने छ र उनीहरु मात्रै मैत्रीपूर्ण खेलमा सहभागीता जनाउन पाउनेछन् । 

मैत्रीपूर्ण खेलमा सहभागी हुने चार टिम मध्ये उत्कृष्ट ३ ओटा टिमलाई ट्रफी र सहभागीताको प्रमाणपत्रको व्यबस्था गरेको आयोजकले जनाएको छ । त्यसैगरि मैत्रिपुर्ण खेलका लागि जेठ ३१ गते ३ बजे सम्म जिल्ला खेलकुद विकास समितिमा टिम दर्ता गराईसक्नुपर्ने र खेलका लागि जेठ ३२ गते विहान साँढे ६ बजे सगरमाथा जनता माद्यमिक विद्यालयको प्राङ्गणमा पुगिसक्नुपर्ने निर्णय गरेको छ । खेलकुदको सम्पूर्ण वयबस्थापनको जिम्मा भने जिल्ला खेलकुद विकास समितिले लिएको छ ।