नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चिशंखुगढी प्रथम अध्यक्षकप भलिबल, उद्घाटनमा अतिथिले आयोजकलाई हरायो

विवेश श्रेष्ठ, जेठ २६ चिशंखुगढी । शनिवारवाट चिशंखुगढी प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं. ८, साविक माम्खा गाविसको नव निर्मित खेलमैदानमा खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका अतिथी र आयोजक विच भएको खेलमा संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार नेतृत्वको अतिथि टिमले गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा नेतृत्वको आयोजक टिमलाई २५–२३ ले पराजित गरेको छ ।

प्रतियोगीताका उद्घाटन शत्रलाई सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका सदस्य माननिय यज्ञराज सुनुवारले युवा शक्तिको खेलप्रतिको रुचि जगाउन ऐतिहासिक प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाइृ धन्यवाद व्यक्त गर्नुभयो । चिशंखुमा मात्रै नभएर जिल्ला भर विभिन्न विधाका धेरै खेलाडी उत्पादन गर्न सक्ने सम्भावना बोकेको ओखलढुङ्गाका सबै स्थानीय तहले यस्ता प्रतियोगिता सञ्चालन गरि खेलाडी उत्पादन गर्न तर्फ ध्यान दिन आग्रह गर्नुभयो । साथै खेलकुदको विकास र खेलाडी उत्पादनका लागिआफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चिशंखुगढिको खेलकुदको विकासका लागि आगामी आर्थिक वर्षमा सांसद क्षेत्र विकास कोषवाट आफुले १५ लाख रुपैया प्रदान गर्ने समेत घोषणा गर्नुभयो ।

त्यस्तै चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले अनुशासित, मर्यायादित र पहिचान राख्ने पेशा भनेकै खेलकुद क्षेत्र भएकोले यसको विकासको आवश्यकता अनिवार्य भएको बताउनुभयो । त्यसैले खेलकुद क्षेत्रको विकास र छिमेकी जिल्ला तथा गाउँपालिकाहरु सँगको सम्बन्ध सुमधुर रुपमा विस्तार गर्नको लागि गाउँपालिकाको तर्फवाट यस प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

चिशंखुगढी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप भलिवल प्रतियोगितामा उदयपुर, खोटाङ र ओखलढुङ्गाका विभिन्न स्थानीय तहका ८ टिमले सहभागीता जनाएका छन् । प्रथम अध्यक्षकपको बिजेताले १ लाख ५१ हजार १ सय ५१, उप विजेताले १ लाख १ एक हजार  १ सय ११ र तृतीय स्थान हासिल गर्नेले ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै विभिन्न व्यक्तिगत विधातर्फ उत्कृष्ट शेटर, उत्कृष्ट डिफेन्डर, अनुशासित लगायत ६ ओटा विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।

शनिबार भएको खेलमा लिखु गाउँपालिका यसमले मानेभञ्ज्यांग गाउँपालिका र चम्पादेवी गाउँपालिकाले मोलुङ गाउँपालिकालाई सोझो सेटमा हराएको छ । प्रतियोगिताको लिग चरण अन्तर्गत आईतवार सिद्धिचरण नगरपालिकाका विरुद्ध उदयपुर, आयोजक चिशंखुगढी गाउँपालिकाका विरुद्ध खोटाङको ऐशेलुखर्क, मानेभञ्ज्याङ्ग विरुद्ध सिद्धिचरण नगरपालिका बीच प्रतिष्पर्धा हुनेछ । त्यस्तैगरि चम्पादेवी गाउँपालिका विरुद्ध आयोजक चिशंखुगढी, उदयपुरका विरुद्ध लिखु गाउँपालिका र दोश्रो दिनको अन्तिम खेल मोलुङ गाउँपालिकाका विरुद्ध खोटाङको ऐशेलुखर्क बिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको फाईनल भने जेठ २८ गते हुनेछ ।