नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुङ्गामा कुकुरको आतंक, एक महिनामा २२ ओटा खसी बाख्रालाई आक्रमण, स्थानीय तह मौन

विवेश श्रेष्ठ, बैशाख ३ ओखलढुङ्गा । ओखलढुङ्गामा कुकुरको आतंक बढेको छ । पछिल्ला दिनहरुमा ओखलढुङ्गा सदरमुकाम आसपासमा नै कुकुरले आक्रमण गरि १० ओटा खसी बाख्रा घाईते भएका छन् । एउटा बाख्रा भने मरेको छ ।

यसैक्रममा शोमबार अपरान्ह साढे ३ बजेतिर शंकर राजभण्डारीको गोठमा बाधि रहेको खसी तथा बाख्राहरुलाई कुकुरको समूहले आक्रमण गरेको छ । आक्रमणमा एउटा बाख्राको तत्कालै ज्यान गएको छ भने दुईओटा खसी, एउटा व्याउने बाख्रा र चारओटा माउ बाख्रा गम्भिर घाईते भएका छन् ।

कुकुरको समूहले मानिस घरमा नभएको अवस्थामा बाख्राको गोठमा गएर फरक फरक बाख्रालाई टोक्ने गरेको छ । जसको कारण खसी तथा बाख्राको आन्द्रा भुडी छरपष्ट निस्किएका छन् । गोठको वरिपरी रगतले लिपेजस्तो भएको छ ।

‘बुबा–आमा माथि घरमा हुनुहुन्थ्यो । हामी बुढाबुढी मकै गोड्न गएका थियौ । बाख्रा धेरै कराए । भर्खरै घाँस दिएर आएको किन कराए भनेर त्यती वास्ता गरेनौ । तर सबै बाख्रा एकै पटक करउन थालेपछि केभएछ भनेर हेर्न आएको त बाख्राको थलाभरि कुकुर ।’ शंकरका छोरा कृष्णले भन्नुभयो, ‘बाख्रा कोही कराईरहेका । कोही लम्पसार परेका । रगतको भल बगेको छ । कुकुरले बाख्रालाई झम्टिदै टोक्दै गरेको । ढुंगा लौरोले हिर्काउदै कुकुर लखेट्न खोजेका आफैलाई झम्टियो । बल्ल तल्ल धपाए । तर खसी बाख्रा सबै सोत्तर छन् । एउटालाई त मारेछ । अरु सबैको भुडी टोकेर प्वाल पारेको छ ।’

तत्काल नै आफु नगरपालिकाको पशु स्वास्थ्य ईकाई र जिल्ला पशुसेवा कार्यालयमा पुगेर भेटेरीनरी डक्टरलाई घरमै लगेको बताउनुभयो । तर भेटेरीनरी डक्टरले खसी बाख्राको भुडीमा ठूलो घाउ बनाएको, आन्द्रा भुडि नै बाहिर समेत निस्केकोले सामान्य औषधी बाहेक अरु केही गर्न नसक्ने र खसी बाख्रा पनि बाँच्न सक्ने अवस्थाको सम्भावना कम रहेको भन्दै गएको कृष्णले बताउनुभयो ।

सिद्धिचरण नगरपालिका वडा नं. १२ का स्थानीय नागरिकहरुको टोलीले आज नगरपालिकामा आई नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठलाई कुकुरको नियन्त्रण र पिडितहरुलाई क्षतिपूर्तिको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । त्यस्तै ध्यानाकर्षणपत्रको बोदार्थ जिल्ला समन्वय समितिका सभापति जय वहादुर श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय र सिद्धिचरण नगरपालिकाको वडा नं. १२ का वडाअध्यक्षलाई पनि दिएको स्थानीय चन्द्रकला श्रेष्ठले जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै कुकुरको आतंकलाई नियन्त्रणका लागि तत्काल आवश्यक पहल गर्ने नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

केही दिन अगाडी मात्रै कुकुरहरुको समूहले सिद्धिचरण नगरपालिका वडा नं. ११ का लक्ष्मण तामाङको ७ ओटा खसी बाख्रा, सिद्धिचरण नगरपालिका वडा नं. १२ का दिल बहादुर बुढाथोकीको २ ओटा खसी र सिद्धिचरण नगरपालिका वडा नं. ११ कै यज्ञ बहादुर गिरीको ५ ओटा खसी बाख्रालाई आक्रमण गरेको थियो । कुकुरले खसी बाख्रा मारेर लाखौको क्षति गरेको र मान्छेलाई समेत आक्रमणको प्रयास गरेको भनेर स्थानीय वडा अध्यक्षहरुलाई जानकारी गराउदा पनि जनप्रतिनिधीहरुले वेवास्ता गरेको पिडितहरुले गुनासो गरेका छन् ।