नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गा जिप दुर्घटना अपडेट ः मृत्यु हुनेहरुको संख्या सात पुग्यो

ओखलढुङ्गान्युज, चैत १८ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानी स्थित भडारे खोलामाथि डडुवाडाँडामा आईतवार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएपछि मृत्यु हुनेहरुको संख्या सात पुगेको हो ।

दुर्घटनामा परी ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाण्डौ बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङ्वाङ शेर्पा, ३२ बर्षीया नुमा शेर्पा र डोमा शेर्पाको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका काठमाडौंका बौद्धकै ५४ वर्षीय डुसांगे शेर्पाको समेत उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । जिप दुर्घटनामा गम्भीर घाइते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं स्थिल ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घाईते दुबैजनाको अवस्था समेत गम्भीर छ । आइतबार बिहान सोलुखुम्बुको जुनबेशीमा रहेको ठुलोगुम्बा भ्रमण गरेर काठमाडौं तर्फ जाँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना परी मृत्यु भएकाहरुको यो समाचार तयार पार्दासम्म शव पोष्टमार्टमका रुम्जाटार अस्पतालमा राखिएको छ । दुर्घटना स्थल जिल्ला सदरमुकामबाट करिब ३२ किलो मिटर टाढा पर्दछ । उक्त स्थानमा यस अघि पनि बारम्बार सवारी दुर्घटना हुदै आएको छ ।