नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

क्षतिपूर्तिको कुरा नमिल्दा ज्यान गुमाएका चालकको शव उठेन

ओखलढुङ्गान्युज, चैत ८ ओखलढुङ्गा । दुर्घटनामा परि ज्यान गुमाएका चालकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा कुरा नमिल्दा चालकको शब रुम्जाटार अस्पतालमा थन्किएको छ । गत बुधबार जिल्लाको  मानेभञ्ज्याङ गाउँपालिकामा वडा नं. ५ मा भएको एक्स्काभेटर दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकको शब अस्पतालमा नै थन्किएको हो ।

सम्बन्धित कम्पनीले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यबस्था नगरेसम्म शब नउठाउने भन्दै आफन्त र स्थानीयले शव उठाउन मानेका छैनन् । मृतकका परिवारले शव उठाउन नमान्दा शव पोस्टमार्टम तथा दाहसंस्कार समेत हुन सकेको छैन । 

सोलु करिडोरको विद्युत प्रसारण आयोजनाको पोल गाड्ने स्थल निर्माणका क्रममा बुधवार एक्स्काभेटर दुर्घटना हुँदा सुनकोशी गाउँपालिका वडा नं. ४ सिस्नेरीका का चालक १८ वर्षीय जीवन श्रेष्ठको ज्यान गएको थियो ।

दुर्घटनापछि आफन्त र स्थानीय क्षतिपूर्ति नपाएसम्म शव उठाउन मानेका थिएनन् । बिहीबार साँझसम्म स्थानीय, पीडित परिवार र सरोकारवालाबीच जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा छलफल भएको थियो । छलफलमा क्षतिपूर्ति कसरी दिलाउने भन्ने विषयमा कुरा भइरहेको छ । क्षतिपूर्तिको सहमति भएपछि मात्रै शव पोस्टमार्टम गरि शब जिम्मालिने परिवारका आफन्तहरुले बताएका छन् ।

मंगलबार साँझ करिडोरको टावर राख्ने निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो । दुर्घटनासँगै हराइरहेका चालकको शव बुधबार बिहान मात्रै फेला परेको थियो । आयोजनाका प्रतिनिधि र सरोकारवाला राखेर शुक्रबार सम्ममा सहमति गरिने प्रहरीले जनाएको छ ।