नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सिद्धिचरण नगरपालिकामा आगलागी हुदा पौने एक करोडको क्षती

विवेश श्रेष्ठ, फागुन २९, ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. २ मा आगलागी हुदा झण्डै एक करोड बराबरको क्षति भएको छ । आगलागिका कारण चुहानछापमा पौने एक करोड अर्थात ६६ लाख बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीवाट सिद्धिचरण नगरपालिका वडा नं. ३, ठुलाछाप चुहानछापका नरेन्द्र कार्की, ढक बहादुर कार्की, प्रेम बहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का, समशेर बहादुर कार्की, ढुल बहादुर कार्कीको घर तथा मतान जलेको छ । आगलागीवाट कुनै पनि मानविय क्षति र पशुपंक्षीको क्षति नभएपनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा, नगद, गरगहना, भाडाहरु सम्पूर्ण रुपमा नष्ट भएका छन् ।

आगलागीको घटना थाहा पाउनासाथ जिल्ला सदरमुकामवाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकोबलको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल सदरमुकामबाट करीब ३ घण्टाको पैदल दुरीमा पर्छ भने सवारी साधन पुग्न झण्डै एकघण्टा लाग्छ । घटनास्थलमा जनशक्तिको अभाव र पानीको समेत समस्या हुदा आगलागीले धेरै क्षति पु¥याएको सिद्धिचरण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले जानकारी दिनभयो ।

घटनास्थलमा पुगेका जनशक्तिले आगोलाई नियन्त्रणमा लिनका लागि नजिकै रहेका अन्य घरहरुलाई भत्काएका थिए । सदरमुकामवाट ढिला पुगेको दमकलको सहायताले आगोलाई नियन्त्रणमा लिन सफल भएको हो ।

स्थानीय होम बहादुर कार्कीको निजि जंगलमा रहेको पातपंतिङ्गर पोल्नका लागि आगो बालिएको थियो । तर अचानक आएका हावाहुरी र बतासका कारण आगो तुरुन्तै निजि वन हुदै खड्काको घरतर्फ आगो सल्किएको थियो । सल्कदै आगोले ६ परिवारका घरगोठ लगायत घरभित्र रहेका सबै सामाग्रीहरुलाई सखाप वनाएको थियो । 

आगलागीको घटना थाहा पाउनासाथ राहत उद्धार सामाग्री बोकेर घटनास्थलमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा लगायतको टोली पुगेको थियो । आगलागीवाट पिडितहरुलाई नेपाल रेडक्रस सोसाईटी ओखलढुङ्गा शाखाको तर्फवाट त्रिपाल, कम्बर केही भाडाहरु प्रदान गरिएको छ ।

त्यस्तै नगरपालिकाको तर्फवाट पिडितहरुलाई चिउरा, चाउचाउ र पानी वितरण गरिएको थियो । बुधबार विहानै देखी पिडितहरुलाई बासको ब्यबस्थापनका लागि सिद्धिचरण नगरपालिका वडा नं. २ का वडा अध्यक्षको नेतृत्वमा रेडक्रसले उपलब्ध गराएको त्रिपाल टाँगेर अस्थायी टहरा बनाउन सुरु गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यसैबिच मोलुङ गाउँपालिकाको वडा नं. ८ मा लागेको आगोले पनि उग्र रुप लिएको छ । आइतवारवाट सल्किएको आगोलाई हाल सम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । ८ नम्बर वडाको जंगलमा लागेको आगो मंगलवारको हावाहुरीका कारण खोला तरेर वडा नं. ७ र सिद्धिचरण नगरपालिकाको वडा नं. ६ जन्तरखानी तर्फ प्रवेश गरेको छ ।

आगोले कुनैपनि मानविय क्षति नहोस भनेर आगो बस्ती तर्फ प्रवेश गर्नवाट रोकाउन र समयमा नै जानकारी गराउन अस्थायी प्रहरी चौकी श्रीचौर र अस्थायी प्रहरी चौकी ठाडेको प्रहरीटोली खटिई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगो ठुलो र घना जंगलमा लागेको कारण जंगलमा पानी पनि पाउन कठिन भएको कारण आगो निभाउनका लागि अहिले सम्म परिचालन गरिएको छैन । बुधबार पनि हावाहुरी चलेमा आगोले जन्तरखानी, विगुटारका जंगल लगायत सोलुखुम्बु जिल्लामा पर्ने जंगलका भागहरुमा समेत क्षति गर्नेछ ।