नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

खाना खाने विषयमा विवाद हुदा श्रीमतीलाई कुटपिट, घाईतेको अबस्था गम्भिर

ओखलढुङ्गान्युज, फागुन २८ ओखलढुङ्गा । ओखलढुङ्गामा श्रीमानको कुटाईबाट श्रीमती गम्भिर घाईते भएकी छिन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. १ मोलीका २७ बर्षिय भबिमान सिंह रुम्दालीको कुटाईबाट उनका २९ बर्षिया श्रीमती निर्मला राई गम्भिर घाईते भएकी हुन् ।

आईतबार बेलुका मादक पदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी बिबाद हुदाँ श्रीमतीलाई मरनाशन्न हुनेगरी कुटपिट गरेका थिए । श्रीमान्ले बेलुका घरमा मासु ल्याएको र परिवारका अन्य सदस्यहरुले मासु नखाने हुदा निर्मलाले मासु पकाउदिन भनेपछि विवाद सुरुभएको रहेछ । त्यही विवादमा श्रीमान भविमानले श्रीमती निर्मलालाई कुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताउनुभयो ।

श्रीमानको कुटाईबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुङ्गा सामुदायीक अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ । तर अस्पताल प्रशासनले भने घाईतेको अबस्था अझै गम्भिर रहेको बताएको छ । घटनापछि रुम्दालीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुम्दाली पक्राउ परे लगत्तै पुनः मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उनी बिरुद्ध महिँला हिँसा बिरुद्धको उजुरी दर्ता भएको छ । अहिले पिडक रुम्दालीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । निर्मलाका ७ बर्षका र तिन बर्षका गरि दुई छोरीहरु छन् ।