नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

डेढ दशक पछि दलित बस्तीमा खानेपानी, स्थानीयमा खुशीयाली

विवेश/रामहरि श्रेष्ठ, फागुन २६ ओखलढुङ्गा । कात्तिक मंशिर लाग्दादेखी नै कुवामा पानी लिन आधा रातमा नै उठेर जानुपथ्र्यो । नत्र पानी भर्ने पालो नआउला भन्ने पिर । धेरै वर्ष अगाडीको कुरा हैन । यो त यही २०७५ सालको फागुनको दोश्रोहप्ता सम्म पनि । स्कुल जान ठिक्क परेका नानीवाबु हुन् वा ७० वर्ष उमेर कटेका बा–आमा । मानिसलाई नभई नहुने कुरा त पानी नै हो । त्यसमाथि पनि घरमा घरपालुवा जनावर पालेपछि अलिक बढि नै पानी चाहिन्छ । वेलैमा पानीको जोहो गरेर अरु काम भ्याउनका लागिपनि पानी लिन आधारातमा नै उठेर पधेरो तर्फ जानु यहाँका बासिन्दाको रहर हैन बाध्यता थियो ।

यो कथा अन्त कतैको हैन । ओखलढुङ्गा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेको हो । यो वडा सदरमुकामको वडा नं. ११ र १२ सग जोडिएको छ । सदरमुकामवाट हिडेर जादा यहाँसम्म पुग्न करीब १ घण्टा १५ मिनेट जति लाग्छ । तर यो वत्तिमुनीको अध्यारोको रुपमा रहन बाध्य छ । सदरमुकामकामवाट करीब डेढघण्टाको पैदल दुरीमा रहेको भएपनि यहाँका सबैघरधुरीमा नत बत्तिको सुबिधा पुगेको छ । नत खानेपानीको नै । त्यसमाथि झन साविकको यो वडा नं. ४ को दलित वस्ती झनै दुर्गम जतिकै थियो ।

तर अहिले यहाँको दलितवस्तिमा खानेपानी पुगेपछि अवस्था फेरीएको छ । पानीको हाहाकार हुदाँ दशकौँदेखी काकाकुल जिवन बिताईरहेका दलित बस्तिमा पाईपमार्फत घरघरमा खानेपानीको सुबिधा पुगेपछि स्थानिय दंग परेका छन् । खानेपानी जोहो गर्न रातभर अनिदो बस्ने गरेका स्थनियहरुमा पाईपबाट घरघरमा धारो पुगेपछि खुशीले सबैमा खुशी छाएको छ । छिटफुट रुपमा बस्तुभाउ पाल्ने गरेका स्थनियमा पानी बोकेरै जिन्दगी बित्ने चिन्ता लागेको भएपनि यसरी घरघरमा धारो सहितको पानी आउला भन्नेमा आशा भने नलागेको स्थानिय बताउछन् ।

खानेपानी पाउनै मुस्किल पर्ने स्थानमा धारो मार्फत घरैपिच्छे पानी झरेपछि नयाँजुनी पाएको महशुस भएको स्थानिय मिठुमाया सार्कीले बताईन् । २०५८ सालमा स्वकिृत भएको योजनामा करिब १२ बर्ष पहिले नेपाल सरकार र एसीयाली बिकास बैङ्क (एडीबी)को १० लाख रुपैयाको लागतमा खानेपानीको पाईप निकाशा गरिएको थियो । तर पाईप किनिएपनि पानीको मुहान पहिचान नभएपछि पाईपहरु लामो समयदेखी त्यत्तिकै थन्किएको हो ।

पछि स्थानिय नागरिकहरुको चासोमा सिद्धिचरण नगरपालिका ११ स्थित चन्दनेखोलामा पानीको मुहान फेला परेपछि करिब ६ किलो मिटर अर्थात ५ हजार ७ सय ५० मिटर पाईपलाईन मार्फत गाँउमा खानेपानी पुर्याईएको योजना निर्माण समितिका अध्यक्ष पहलमान खड्काले बताउनुभयो । प्रतिघर स्थानियबाट रु ५ हजार रुपैया नगद सहित १० दिन बराबरको जनश्रमदानमा गाउँमा पहिलो पटक खानेपानी पुर्याएको पनि खड्काले बताउनुभयो ।

हामीले एकघर बराबर ५ हजार ऋण गरेरै भएपनि तिरेका छौं । कम्तीमा १० दिन श्रमदान पनि गरेका छौं । श्रमदान गर्नुपर्दा त खासै केही जस्तो लागेन । अलिकती भएपनि ऋणको भार थपियो । पहिले पानी लिन झण्डै एकघण्टा टाढा पाँडेको पधेरो भन्ने ठाउँमा रातभर रुगेर पानी ल्याउनुपथ्र्यो । तर ऋण गरेर नै धेरैथोरै लगानी भएपनि घरघरमा पानी झरेकोमा आफुहरु अत्याधीक खुशी रहेको स्थानिय माझी सार्कीको भनाई छ ।

वर्षौदेखी खानेपानीका लागी थुपारिएका पाईपको थुप्रो हेर्दै रातभर पानी बोक्ने गरेका स्थानियहरुमा गाउँमा पानी आएपछि साच्चै गाउमा नै सिंहदरवार आएको महसुस भएको छ । पानीका लागी सिद्धिचरण नगरपालिका र वडा कार्यालयले पहलकदमी गरेको सिद्धिचरण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दान बहादुर बानियाँले बताउनुभयो । गाउँमा पानी पुर्याउन अहिले पहल मात्र गरेकाले आगामी दिनमा खानेपानीको ब्यवस्थापनका लागी बजेट बिनियोजन गरी काम गर्ने समेत उहाँले बताउनुभयो ।

सञ्चालित योजनावाट हाल दलित समुदायका ३५ घरधुरी सहित ६२ घरधुरीका करीब ४ सय ले खानेपानी उपभोग गर्दै आएका छन् । पहिलै खरिद भएर आएको पाईपलाईन बाहेक स्थानियको जनश्रमदान तथा नगद सहित करिब ९ लाख ३० हजारको लागतमा गाउँमा खानेपानी पुर्याईएको हो । घरघरमा पानी पुगेपनि त्यसलाई व्यबस्थित भने गरिसकिएको छैन । अबको करीब एक महिना भित्र योजनाको काम सकिने योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले बताउनुभयो । अहिले अस्थाई रुपमा पुगेको पानीलाई व्यवस्थीत गरी बिस्तार गर्नुपर्ने स्थानियको माग छ ।