नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

महिला दिवसमा ओखलढुङ्गामा लोकदोहोरी गीत प्रतियोगिता

ओखलढुङ्गान्युज, फागुन २४ ओखलढुङ्गा । १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस ओखलढुङ्गामा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘लैङ्गिक समानताका लागी समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने राष्ट्रिय नाराका साथ ओखलढुङ्गाका सबै स्थानिय तहहरुले बिभिन्न कार्यक्रम गरी मनाएको हो । जिल्लाको सदरमुकाम ओखलढुङ्गामा भने लैङ्गिक समानताका पक्षमा लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ ।

महिला दिवसको अवसरमा ओयोजित लोक दोहोरी गीत प्रतियोगितामा सिद्धिचरण नगरपालिका वडा नं. ४ को महिला समूह प्रथम भएको छ । त्यस्तै, सिद्धिचरण नगरपालिका वडा नं. ३ को पार्वती दाहालको समूह दोश्रो र सिद्धिचरण नगरपालिका वडा नं. ३ कै रेणुका खनालको समूह तेश्रो भएको छ भने सिद्धिचरण नगरपालिका वडा नं. ११ को बशन्त खत्रीको समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

विजयी समूहहरुलाई क्रमश ः नगद रु. ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेशसभा सांसद माननिय अम्बिरबाबु गुरुङ, नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका उपाध्यक्ष दिल कुमारी खतिवडाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दिवसको अवसरमा सिद्धिचरण नगरपालिकाले सुनकोशी गाउँपालिकाका क्यानसर पिडित बालिकालाई आर्थिक सहयोग, १२ वटै वडाका अति विपन्न किसोरीहरुलाई शैक्षिक प्रगतीका लागी आर्थीक सहयोग र बिभिन्न समुह स्तरीय लोकगीत प्रतियोगीता आयोजना गरेको हो । सदरमुकामको बालमन्दिर प्राबिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सुनकोसी गाउँपालिकाकी क्यान्सर पिडित बालिकाको लागि सहयोग रकम समेत हस्तान्तरण गरिएको छ । बालिकाको उपचारका लागि सिद्धिचरण नगरपालिकाको तर्फवाट रु १० हजार, ग्रामिण महिला जागरण समूहको तर्फवाट रु १० हजारको चेक र अन्य व्यक्ति तथा संस्थावाट प्राप्त भएको रु १० हजार गरि जम्मा रु ३० हजार रुपैया सुरक्षीत आवास गृहका अध्यक्ष पेमडोमा शेर्पालाई प्रदान गरिएको छ । उक्त चेक तथा रकमलाई प्रमुख अतिथी सांसद गुरुङ र नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । केही दिन अगाडी सुरक्षित आवास गृहले पत्रकार सम्मेलनको आयोजना गरि बालिकाको उपचारका लागि सहयोग रकम जुटाउन सहयोग गरिदिन सबैसग आग्रह गरिएको थियो ।

त्यस्तै कार्यक्रमको अवसर पारेर नगरपालिकाका १२ वडाका १४ जना बिपन्न किशोरीहरुलाई ३ हजारका दरले शैक्षिक सहयोग गरिएको छ । उक्त शैक्षिक सहयोग युएनएफपिएको तर्फवाट उपलब्ध गराईएको सिद्धिचरण नगरपालिकाका महिला शाखा प्रमुख सरीता तामाङले बताउनुभयो । कार्यक्रमका सहभागीहरुले महिला हिंसा न्युनिकरणका लागी प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । महिला हिंसा विरुद्ध ऐक्यबद्धता जनाउनका लागि सोच नेपालको समन्वयमा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रदेश नं. १ का सांसद माननिय अम्बिर बाबु गुरुङ, जिल्ला समन्वय समितिका अध्यक्ष जय बहादुर श्रेष्ठ, नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठ, नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने लगायतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । सिद्धिचरण नगरपालिका, महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्रामिण महिला जागरण समूह, सोच नेपाल, युएनएफपिए, कोसिस नेपाल, साहस नेपाल, सामुदायीक अस्पताल सोब्रु, महिला मानव अधिकार रक्षक सञ्जाल ओखलढुङ्गा लगायत संघ–संस्थाहरुले सहयोग गरेका थिए ।

तस्वीरमा महिला दिवस