नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

नेपालको पहिलो भू–उपग्रह बैशाख ४ गते प्रक्षेपण गरिने

ओखलढुङ्गान्युज, फागुन २३ काठमाण्डौं ।  नेपालका बैज्ञानिकहरुको कडा मेहनतका वावजुद नेपालको आफ्नै पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

केहिदिन अगाडी जापानस्थित क्यूसू इन्सिटिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापान पुग्नुभएके उपकुलपति श्रेष्ठले स्याटालाइट निर्माण कार्य सम्पन्न भएको भन्दै नेपालीहरुको लागि ऐतिहासिक सफलता मिलेको बताउनुभयो ।

‘बर्डस’ कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो । उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको थियो । उपग्रह निर्माणका लागि लागि एक करोड ५० लाख भन्दा बढि  जापानी यान खर्च भएको निर्माण कार्यमा सहभागी ईञ्जिनियरहरुले बताएका छन् ।

नेपाली भू–उपग्रहलाई आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ। नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा. रविन्द्र ढकालले जानकारी दिनुभयो । गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो।

पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५र१० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ। ग्राउण्ड स्टेशन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ ।

यो ठूलो भू–उपग्रह नभएर नानो भू–उपग्रह रहेको नाष्टका उपकुलपती श्रेष्ठले प्रस्ट्याएका छन् । यो भू–उपग्रह १यू–क्यूब–स्याटको (लम्बाई, चौढाइ र उचाई १०–१० सेन्टिमिटर भएको) नानो स्याटालाइट हो । यसको पहिलो काम तस्बिरहरु खिचेर पठाउनु हो । यो एउटा प्रयास मात्र भएको र नानो स्याटाइलट निर्माणबाट प्राप्त अनुभवलाई ठूला भू–उपग्रहरु निर्माणका लागि प्रयोग गर्न सकिने नास्टले जनाएको छ।