नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चम्पादेवीमा लिफ्टिङ गरी लिखुनदीको पानी

ओखलढुङ्गान्युज, फागुन २२ ओखलढुङ्गा । पानीले हाहाकार भैरहने ओखलढुङ्गाको चम्पादेवीमा लिखु नदीको पानी ल्याईने भएको छ । चम्पादेवी गाउँपालिकाको वडा १ र २, साविकको पलापु गाविसलाई लक्षित गरेर एक वर्षमा लिखुखोलाको पानी ल्याइने भएको छ । लिखुनदी देखि करिब डेढ किलोमिटर माथि रहेको मण्टु डाँडामा लिफ्टिङ गरी खानेपानी ल्याइने भएको हो ।

लिफ्टिङबाट खानेपानी योजना सञ्चालनका लागि गाउँपालिकाले पाँच करोड ६५ लाख रुपैयाँको खानेपानी योजना सञ्चालन गर्न लागेको छ । यो खानेपानी योजना सम्पन्न भएपछि पलापुका १ हजार १ सय १५ परीवारका ९ हजार बढी स्थानीयले खाने पानी प्रयोग गर्नेछन् । काम थालनी गरेको एक वर्ष अर्थात् आगामी ०७६ को चैत मसान्तसम्म पलापुमा लिखुको पानी ल्याइने र घरघरमा खानेपानी पुर्याउने गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो ।

पलापुमा वर्षौँदेखि खाने पानीको अभाव भइरहेको वेला गाउँपालिकाले लिखु नदीको पानी ल्याउन लाग्दा खुशीको सीमा नरहेको चम्पादेवी २ पलापुका स्थानीय मिलन मगरले बताए। 

पलापुका स्थानीय खानेपानीका लागि पुस्तौँदेखि काकाकुलको जीवन बिताइरहेका थिए । बिहान ३ बजेदेखि पँधेरामा गएर बस्दा कहिले काँही त पानी नै नपाई फर्कनु पर्ने अवस्था आउने गरेको स्थानीय बताउछन् । ०४५ साल तिर गाउँमा एउटा खानेपानी योजना सञ्चालनमा आएको भए पनि त्यो समयमा ट्यांङ्कीमा जम्मा गरेको पानी ८–९ सय परिवारलाई नगुग्ने अवस्था रहेको पुर्व गाविस अध्यक्ष मोहनसिंह मगर बताउछन् ।

खानेपानी सँगसँगै बिजुलीको पनि व्यवस्थापन गर्ने अध्यक्ष केसीले बताए । पलापु खानेपानी योजनाका लागि लिखु नदीबाट मण्टुडाडा सम्म १ हजार ४ सय ४ मिटर पाइप पाइप आवश्यक पर्ने बताइएको छ । योजनाको कार्यान्वयनका लागि आफूसँग बजेट कम भएकाले संघीय र प्रदेश सरकारसँग सहयोगका लागि अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ ।

यसवर्ष चम्पादेवी गाउँपालिकाले पालिकालाई खानेपानी वर्षको रुपमा योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताएको छ । त्यसै अनुसार २०७६ को चैत्र मशान्त सम्ममा चम्पादेवी गाउँपालिकाका सबै वडाहरुमा सर्वसुलभ तरिकाले नागरिकहरु माझमा खानेपानीको पहुँच पुर्याउने लक्ष्यका साथ कार्यक्रमहरु सञ्चालन गरिरहेको पालिकाले जनाएको छ ।