नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

प्रदेश स्तरीय भलिवलको उपाधी झापालाई

ओखलढुङ्गान्युज, फागुन १७ ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार सम्पन्न १ नम्बर प्रदेश स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताको शिल्डमेडल भने झापाले कब्जा गरेको छ । जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिका १२ को सगरमाथा जनता माद्यमिक विद्यालयको प्राङ्गणमा भै रहेको खेलको आज फाईनल सम्पन्न भएको हो । फाईनल सगैसगै पाँचदिन सम्म जारी प्रदेश स्तरिय पुरुष भलिवल छनौट प्रतियोगिता शुक्रबार वाट सम्पन्न भएको हो ।

शुक्रबार तेश्रो स्थानका लागि भएको खेलमा ३–१ सेटको जित नतिजा निकाल्दै सुनसरी तेश्रो भएको छ । शुक्रबार भएको पहिलो खेलमा सुनसरीले संखुवासभालाई २५–२१, २५–२३, २१–२५ र २५–२० को सेटमा पराजित गरेको हो । त्यस्तै दिउसो दुई बजे पछि प्रथम स्थानका लागि भएको खेलमा भने भोजपुरलाई ३–० को सोझो सेटमा हराउदै शिल्ड झापाले कब्जा गरेको हो । झापाले भोजपुरलाई  ३०–२८, २५–१९ र २५–२० को सोझो सेटमा नै पराजित गरेको हो ।

प्रदेश स्तरिय पुरुष भलिवल छनौट प्रतियोगिताका विजयी टिमहरुलाई समापन समारोहका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिताको समापनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले विजयी टिमका सबै खेलाडीहरुलाई बधाई तथा धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । यस खेलमा सहभागि भएकाहरु मध्येवाट राष्ट्रिय खेलकुद कार्यक्रमका लागि समेत खेलाडी छनौट हुने भएकोले छनौट भएका खेलाडीहरुले राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी भई १ नम्बर प्रदेशको शिर उचो पार्नका लागि सफलताको शुभकामना पनि व्यक्र गर्नुभयो ।

प्रदेश स्तरीय यस भलिवल प्रतियोगितावाट १२ जना खेलाडी छनौट भई चाडै नै हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । प्रदेश स्तरीय भलिवल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रदेश स्तरिय खेलकुद विकास समितिको संयोजन तथा जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको व्यबस्थापनमा सञ्चालन भएको हो ।

गत फागुन १३ गते देखी सुरु भएको १ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा १ नम्बर प्रदेशका १४ ओटै जिल्लाहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सञ्चालनका लागि ओखलढुङ्गामा आईपुग्नुभएका पाहुनाहरुका लागि जिल्ला खेलकुद विकास समितिको तर्फवाट ओखलढुङ्गाको मायाको चिनो प्रदान गरिएको थियो ।