नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आज बशन्त पञ्चमी

ओखलढुङ्गान्युज, माघ २७ ओखलढुङ्गा । आज विद्याकी देवी मानिने सरस्वतीको पुजा आराधना गर्ने दिन । जन्मिएर भर्खरै विद्यालय जाने उमेर भएका नानी बाबुहरुलाई अक्षराम्भ गर्ने दिन पनि । घरमा रहेका बहर गोरुलाई पनि काधमा जुवा हालेर नार्ने दिन पनि ।

माघ शुक्ल पञ्चमीका दिन अर्थात आज आइतबार समस्त हिन्दूले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको आराधना गरेर श्रीपञ्चमी मनाउँदैछन् । बशन्त पञ्चमी एवम् श्रीपञ्चमीका अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गर्ने प्रचलन छ ।

यस दिनलाई नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाहलगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने दिनको रूपमा लिइन्छ । यसै दिन शिशुलाई अक्षराम्भ गराउने र नाक कान छेडाउने प्रचलन पनि छ । त्यसैगरि अन्य कुनैपनि शुभकार्यको सुरुवात गर्दा यो दिनमा गरेमा कहि कतैपनि साईत हेराउनुपर्ने वा जुराउनुपर्दैन भन्ने परम्परागत प्रचलन पनि चल्दै आएको छ ।

गैरीधाराको नील सरस्वती, लेलेको सरस्वती कुण्ड, ठिमिको सरस्वती खेल, मैतिदेवीको सरस्वती मन्दिर, स्वयम्भू लगायतका मुलुकभरका सरस्वती मन्दिरमा भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ । सरस्वतीके पूजा गरि मुखमा सरस्वतीले बास गर्ने, बोलेको कुरा सबै पुराहने विश्वासगर्दै आजका दिन सरस्वतीको पूजा र दर्शन गर्नेहरुको सरस्वती मन्दिर भएको स्थानहरुमा घुईचो लागेको छ ।

कतिपय निजी विद्यालयले यो अवसरमा बालबालिकालाई निःशुल्क विद्यालय भर्नाको व्यवस्था पनि गरेका छन् भने कतै ५० प्रतिशत छुटमा पनि आजैका दिनदेखी विद्यार्थीहरुलाई विद्यालया भर्नाको सुरुवात गरेका छन् । श्रीपञ्चमीको अबसर पारेर ओखलढुङ्गाका पनि धेरै विद्यालयहरुमा विभिन्न सास्कृतिक कायक्रमहरु समेत सञ्चालन भै रहेका छन् ।