नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा फलामको ढुंग्रीले हिर्काएर ससुराको हत्या

ओखलढुङ्गान्युज, माघ २४ ओखलढुङ्गा । ओखलढुङ्गामा एक महिलाले आफ्नै ससुराको हत्या गरेकी छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारकी तारादेवी गुरुङले करीब ७० वर्षका आफ्ना ससुरा रामचन्द्र गुरुङको हत्या गरेकी हुन् । आपसी घरायसी विवादका क्रममा मादक पद्धार्थ सेवन गरेकी बुहारी तारादेवीले आगो फुक्ने फलामको ढुंग्रीले ससुरालाई हिर्काउदा घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आफ्ना छोराहरुलाई अंशवण्डा गरिदिएपछि मृतक गुरुङ कान्छा छोरा सगै बस्दै आएका थिए । छोराहरु छुट्टिए पछि उनी भने कान्छा छोरा–बुहारी सगै बस्दै आएका थिए । जेठो छोरा छुट्टिएपछि कान्छा छोरा बैदेशिक रोजगारका क्रममा खाडिमूलूक गएका थिए । अंश वण्डाका क्रममा जेठा छोरालाई मात्रै बढि सम्पत्ती दिएको भन्दै कान्छी बुहारीले पटक पटक मृतक गुरुङ (ससुरा) सग झगडा गर्दै आएको छिमेकीहरुले बताएका छन् ।

बुहारी तारादेवीले बुधबारदेखी नै मदिरा सेवन गरि ससुरासग अंशवण्डा कै विषयमा झगडा गरिरहेका थिईन् । विहिबार विहान पनि पुन मदिरा सेवन गरि ससुरा सग झगडा गर्न लागेकी थिईन् । बुहारी मातेर झगडा गर्न थालेपछि मृतक गुरुङ भने बुहारीलाई गाली गर्दै घर बाहिर निस्केका थिए । घरवाट निस्केर बारीमा पुगेका मृतक गुरुङलाई बुहारीले पछाडीवाट दगुर्दै आएर आगो फुक्ने ढुंग्रीले कञ्चटमा प्रहार गरेकी थिईन । ढुंग्रीको प्रहारवाट भुईमा ढलेका गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

अंशवण्डा गर्दा नमिलेको र पटक पटक झगडा भएपछि कान्छी बुहारीले आफ्ना श्रीमान्लाई विदेशवाट नेपाल झिकाएकी थिईन् । त्यही विषयलाई मिलाउन भनी मृतकका कान्छा छोरा विहिबार वेलुकाको फ्लाईटमा नेपाल आउदै गरेको छिमेकीहरुले बताएका छन् । हत्याको आरोपी बुहारी तारादेवीलाई मदिराले लठ्ठ भएको अवस्थामा नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलको मुचुल्का उठाई मृतक गुरुङको शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाईएको छ । हत्याका आरोपी बुहारी तारादेवीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।