नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आठौ लाटोकोसेरो महोत्सव खोटाङमा सुरु

ओखलढुङ्गान्युज, माघ १९ खोटाङ । प्राकृतिक सन्तुलनलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो तथा हुचिलको संरक्षण अभियान अन्तर्गत खोटाङमा लाटोकोसेरो तथा हुचिल महोत्सव सुरु भएको छ । खोटाङको जालपामा शुक्रवारवाट आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथी नामक संस्थाको सहकार्यमा जालपामा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो ।

अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर  ‘किसानको साथी’ का रूपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो । लाटोकोसेरो तथा हुचिल उत्सवस्थलमा जिल्ला तथा जिल्ला बाहिरका स्थानीयको सहभागीता रहेको छ । 

लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा विगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पुर्याएकामा कास्की माछापुछ्रे गाउँपालिका धितालका रामजी गौतम, एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा बर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दीर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरि उत्सवको अवसर पारेर चरा संरक्षणका लागि विगत चार दशकदेखि वैज्ञानिक अनुसधान र सहभागीतामुलक संरक्षणका माध्यमबाट योगदान पुर्याएकामा नेपाल पंछी संरक्षण संघ लाजिम्पाट काठ्माण्डौंलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ । समापनका अवशारमा रेडपाण्डा संरक्षण सञ्जाल समिति फेदी र रावाखोवा–तापखोला–लिदिङखोला संरक्षण मञ्चलाई सम्मान गर्ने ताम्रपत्रका साथमा सम्मान गर्ने जनाइएको छल।

उत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालयले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ। लाटोकोसेरो तथा हुचिल उत्सवको अवसरमा वडा कार्यालय जालपाले हुचिल (हाप्सिलो) लाई वडा पंक्षी घोषणा गरेको हो। पशुपंछीलगायत प्रकृतिको संरक्षणका लागि जनचेतना जगाउन आयोजित लाटोकोसेरो तथा हुचिल उत्सवका कारण जालपामा उत्सव अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । खोटाङवाट निर्वाचित प्रतिनिधिसभाका माननिय सांसद विशाल भट्टराईले ढाकिएको हुचिल स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गर्नुभएको हो ।