नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको चम्पादेवीमा छोराद्वारा आफ्नै आमाको हत्या

ओखलढुङ्गान्युज, माघ १९ ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवीमा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका वडा ५, साविकको फेदिगुठ गाउँ विकास समिति वडा नं. ४ पोखरेका ३८ वर्षका टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् ।

बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ । टंक बहादुरले पहिले पनि पटक पटक मदिरा सेवन गरि परिवारमा झगडा गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गामा भने बिहिबार बेलुकामात्रै खबर आएको थियो । अवेर खबर आएपनि त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा प्रहीको टोली घटनास्थल पुगी छानबिन गरेको थियो । छानविनका क्रममा छोराले आमाको हत्या गरेको पुष्टि भएपछि टंक बहादुरलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याईएको छ । मृतकका छोरा टंक बहादुरलाई आवश्यक कानूनी कार्बाहीको लागि प्रकृया अगाडी बढाईएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।