नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

वडा अध्यक्षको किर्ते हस्ताक्षरको उजुरी बारे छानबिन सुरु

ओखलढुङ्गान्युज, पुष २८ ओखलढुङ्गा ।  जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा वडा अध्यक्षको किर्ते सहिछाप गरेको भन्दै मुद्धा परेको छ । वडा अध्यक्षको किर्ते छाप बनाई सहि गरेर योजनाको रकम निकाशा गरेको बिषयमा उजुर परेपछि जिल्ला प्रशासनले छानबिन सुरु गरेको जनाएको छ । चम्पादेवी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तिलक बहादुर खड्काको सहिछाप किर्ते गरी योजनाको रकम बिनियोजन गरेको बिषयमा जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले छानबिन थालेको हो ।

केही दिनअघि चम्पादेवी ६ मा रहेको दमाइघुम्ती–देउराली सडकखण्डको योजनाको किस्ता निकासा गर्दा गाउँपालिकाबाटै वडा अध्यक्ष खड्काको सहीछाप किर्ते गरेर खड्का कै सिफारिस बनाइ योजनाको रकम भूक्तानी लिएको बिषयमा प्रशासनमा छानविनका लागी उजुरी परेको थियो । भुक्तानीको विषयमा खड्का आफुले हस्ताक्षर नै नगरी आफ्नै छाप र हस्ताक्षर गरेर रकम फरफारक भएको थाहा पाएपछि अचम्मित भएका थिए । आफ्नो किर्ते हस्ताक्षर गरेको थाहा पाएपछि खड्काले समेत जिल्ला प्रशासन कार्यालयमा उजुर गरेका छन् ।

गाउँपालिकाले आर्थिक अनियमिमता गरेको, सही समेत किर्ते गरी योजना फरफारक गर्ने गरेको तथा जग्गा सम्याउने योजनामा उपभोक्ता समिति नै गठन नगरी ठेकेदारलाई सिधै रकम भुक्तानी गरेको भन्दै त्यस विषयमा छानविन गर्न मागगर्दै नेकपाका स्थानीय नेता कमलबहादुर खड्काले जिल्ला प्रशासनमा उजुरी दर्ता गरेका थिए । सोही उजुरीमाथी प्रशासनले छानबिन थालेको हो । उक्त मुद्धामा छानविनका लािग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अधिकार प्रत्यायोजन गरेको छ ।

छानबिनका लागी सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरि काम सुरु गरिएको छ । सहायक प्रजिअ पौड्यालले छानविन सकिएपछि अख्तियारमा प्रतिवेदन बुझाउने बताए । गाउँपालिकाको अनियमितताको बिषयमा परेका अन्य उजुरीमाथी समेत छानबिन हुने प्रशासनले जनाएको छ । यस अघि गाउँपालिकाले अनियमितता गरेको भन्दै एमाले समर्थीत चार जना वडा अध्यक्षहरुले छानबिनका लागी उजुरी दर्ता गरेका थिए।

गाउँपालिकाले अनियमिततालाई प्रसय दिदै अघि बढि रहेको भन्दै पुष १४ गते नेकपाको चम्पादेवी पालिका कमिटीले समेत गाउँपालिकामा ज्ञापन पत्र बुझाएको थियो । तर ज्ञापन पत्र बुझाउदाँ समेत गाउँपालिकाले सुनुवाइ नगरेपछि  प्रशासनमै उजुरी दिनु परेको नेकपा चम्पादेवी गाँउकमिटी अध्यक्ष खड्गबहादुर कार्कीले बताए । ज्ञापनपत्र बुझाउदा समेत सुनुवाई नभएपछि पुष १६ गते नेकपा चम्पादेवीले गाउँपालिकामा तालाबन्दिको प्रयास समेत गरको थियो । गाउँपालिकामा अहिले अनियमीतताको बिषय बाहिर आएपछि नेकपा एमाले र नेपाली कांग्रेस समर्थित स्थानिय सरकारहरु दुई धुब्रमा बाडिएका छन् । गाउँपालिकाको यस्तो बिबादले विकास निमार्णको काम भने प्रभावित भएको छ ।