नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आफ्नो भत्ता काटेर वडा अध्यक्ष प्रदिपले दिए विद्यालयलाई सेनेटरी प्याड

ओखलढुङ्गान्युज, पुष २५ ओखलढुङ्गा । मोलुङ गाउँपालिकाका अध्यक्षले आफ्नो वडाको एक विद्यालयमा सेनेटरी प्याड वितरण गरेका छन् । मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार बानियाले आफुले पाएको भत्ता वापतको रकमवाट छात्रा विद्यार्थीलाई लक्षित गरेर सेनेटरी प्याड वितरण गरेका हुन् । एक कार्यक्रमको आयोजना गरि आईतवार वडाको सरस्वती माद्यमिक विद्यालय कुन्तादेवीलाई उक्त सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो ।

वडा अध्यक्ष बानियाले आफुले प्रदेश सरकारवाट प्राप्त गरेको भत्ता बापतको रकमवाट उक्त सेनेटरी प्याड विद्यालयलाई सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष बानियाले भन्नुभयो, ‘स्थानीय स्तरमा रहेका केही समूहहरुले गाउँका विद्यालयमा महिनावारी भएका बेलामा छात्राहरु विद्यालय नआउने गरेकोले उनीहरुको पठन पाठनमा समस्या भयो । त्यसका लागि वडा कार्यालयवाट केही रकम समेत विनियोजन गरिदिन आग्रह गर्नुभएको थियो । गत आर्थिक वर्षको बजेट अन्यत्र नै खर्च भै सकेको थियो । त्यसैले मैले आफ्नो बैठक भत्ता वापतको रकमवाट नै केही समयलाई हुने गरि प्याडको व्यबस्था गरिदिएको हुँ ।’ प्याडको व्यबस्था भएपश्चात विद्यालयका छात्राहरु नियमित रुपमा विद्यालय आउने अपेक्षा पनि अध्यक्ष बानियाले गर्नुभयो ।

आधारभुत तहको कक्षाको छात्राको पढाईको तुलनामा माद्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको पढाईको प्राप्तांक प्रतिशतमा कमी आउने गरेको स्वयम् शिक्षकहरु बताउछन् । छात्राहरुमा महिनावारी हुन थालेपछि सरसफाईका कारण विद्यालयमा उचित वातावरण नहुँदा विद्यालयमा कम उपस्थिती हुने हुदा उनीहरुको प्राप्तांक प्रतिशतमा कमी आएको हो । विद्यालयमा प्याडको व्यबस्थापन भएसगै छात्राहरु विद्यालयमा नियमित आउने र छात्राहरुको प्राप्तांक प्रतिशत पनि बढ्ने आशा लिएको विद्यालयका प्रधानाध्यापक लिलानाथ गिरीले बताउनुभयो ।

जिल्लाका धेरैजसो विद्यालयमा अझैपनि छात्रामैत्री शौचालयको व्यबस्था छैन । भूकम्प पश्चातको पूननिर्माण भएका विद्यालयमा पनि त्यती ध्यान दिईएको देखिन्न । विद्यालयमा छात्राहरुका लागि प्याडको व्यबस्था भएपनि छात्राहरुलाई आबश्यक भएको बेलामा प्याड फेर्ने कक्षको व्यबस्था सरस्वती माद्यमिक विद्यालयमा पनि छैन । आगामी आर्थिक वर्षको केही बजेट विनियोजन गरेर छात्राहरुलाई प्याड फेर्ने कक्षको पनि व्यबस्था गर्ने वडा अध्यक्ष बानियाले बताउनुभयो ।