नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

नेविसंघका इकाई अध्यक्ष उत्तम खत्री प्रहरी नियन्त्रणमा

ओखलढुङ्गान्युज, पुष १९ घोराखोरी । ललाई फकाई वालविवाह गरेको आरोपमा घोराखोरीवाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका वडा नं. ९, साविकको विलन्दु गाविस वडा नं. ७ का राज कुमार खत्रीका छोरा उत्तम खत्री रहेका छन् । खत्री चम्पादेवी गाउँपालिका वडा नं. ६ मा रहेको श्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । खत्री उक्त माविका नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका ईकाई अध्यक्ष समेत हुन् ।

केही दिन हप्ता अगाडी मात्रै खत्रीले ज्ञान प्रकाश मावि फुलवारीमा कक्षा ९ मा अध्ययनरत एक छात्रासग विवाह गरेका थिए । ललाई फकाई तथा विभिन्न प्रलोभनमा पारेर मुलुकी अपराध संहिता ऐन २०७४ ले तोकेको विवाह गर्ने उमेर भन्दा कम उमेरमा नै बाध्य बनाएर जवरजस्ती विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुर परेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा उजुर परेपछि प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । वालविवाह गरेको भन्ने वारेमा अनुसन्धान पछिमात्रै थाहा हुने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका खत्रीलाई शुक्रवार नै ओखलढुङ्गा ल्याईने पनि उहाँले जानकारी दिनुभयो ।

ललाई फकाई वा जवरजस्ती विवाह गरेको वा उमेर नपुगी विवाह गरेको भएमा स्वतः विवाह रद्द हुने मुलुकी अपराध संहिता ऐन २०७४, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा व्यबस्था छ । त्यस्तै विवाह गर्ने ब्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गरेको पाईएमा विवाह स्वतः बदर हुनुका साथै त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार सम्म जरीवाना हुने मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ११ को विवाह सम्बन्धि कसुर अन्तर्गत दफा १७३ मा उल्लेख छ ।

वालविवाहको आरोपमा पक्राउ पर्ने खत्री सम्भवत ओखलढुङ्गा कै पहिलो व्यक्ति हुन । ओखलढुङ्गामा ५० प्रतिशत भन्दा बढि वालविवाह हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । वालविवाह न्युनिकरणका लागि विभिन्न प्रयासहरु सगै कार्यक्रमहरु सञ्चालन भैरहेको भएपनि ओखलढुङ्गामा वालविवाहमा कमी भने आउन सकेको छैन ।