नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गामा प्रहरीको जनचेतना मुलक अभियान

ओखलढुङ्गान्युज, असोज २२ ओखलढुङ्गा । नजिकिदो चाडवाडलाई लक्षित गरेर ओखलढुङ्गामा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागू औषध, मादक पदार्थ तथा जुवा तास नियन्त्रण सम्बन्धि अभियान ओखलढुङ्गामा सञ्चालन गरेको हो ।

नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभदिपावली नजिकीदै छ । चाडवाडको बेलामा लागू औषध, मादक पदार्थ तथा जुवातास खेल्ने खेलाउनेको संख्या अधिक हुने गर्दछ । चाडवाडका समयमा यातायातका साधनको चाप सगै नागरिकहरुको आवत जावत बढ्दा मादक पदार्थको प्रयोग पनि बढ्ने र त्यसले समाजमा अमर्यादित कृयाकलाप सगै आपराधिक गतिबिधी समेत हुन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि समयमा नै खबरदारी गर्ने उद्देश्यले जनचेतना मुलक अभियान सञ्चालन गरिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो ।

बजार परिक्रम पश्चात कोण सभामा परिणत भएको ¥यालीलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जनचेतना मुलक कार्यक्रममा सबैले साथ दिनुपर्ने बताउनुभयो । विशेषत चाडवाडको समयमा हुने जुवातास तथा जाडरक्सि सेवनको कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउदै यस्ता कृयाकलापलाई नियन्त्रण गर्न सके समाजमा हुने अमर्यादित कृयाकलाप तथा आपराधिक घटनामा समेत कमी आउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

कोण सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जुवातास खेल्ने खेलाउने, सट्टावाजी गर्ने गराउने, लागू पदार्थ जन्य पदार्थको उत्पादन, ओसारपसार, विक्रि वितरण कानूनत प्रतिबन्धित भएकोले विशेषत चाडवाडका समयमा यस्ता कृयाकलाप नगर्न नगराउन सबैलाई आग्रह गर्नुभयो । समाजलाई शान्तिपूर्ण वातावरणमा राख्न र समाजमा हुने आपराधिक कृयाकलापको नियन्त्रणको कार्यमा नागरिकहरुको महत्वपूर्ण हात हुने भन्दै सबै नागरिकहरुले सचेतताका साथ समाजलाई शान्तिपूर्ण र अमर्यादित कृयाकलाप विहिन समाज बनाउनतर्फ लाग्न प्रमुख जिल्ला अधिकारी न्यौपानेले अनुरोध गर्नुभयो ।

अभियान अन्तर्गत विभिन्न नाराहरु लेखिएको व्यानर र प्लेकार्ड बोकी नेपाल प्रहरी, शशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधी तथा नगरपालिकाका निर्वाचित जनप्रतिनिधी, होटल व्यावसायी, उद्योग वाणिज्य संघ, पत्रकारहरुको संयुक्त टोलीले बजार परिक्रमा गरेको थियो ।

जनचेतनामूलक नाराहरु लेखिएको व्यानर तथा प्लेकार्ड बोकेको टोलीले सदरमुकामको गोरुमारे भञ्ज्याङ्ग मिलनचोक देखी रमाईलो डाँडा जिरो प्वाईन्ट हुदै भैरवटोल, गणेशचोक तथा जिविस चोकसम्म परिक्रम गरेको थियो । बजार परिक्रमा पश्चात अभियानको ¥याली गणेशचोकमा फर्केर कोण सभामा परिणत भएको थियो ।