नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा नेकपाका कमिटी एकिकरण शुरु

ओखलढुङ्गान्युज, असोज २२ ओखलढुङ्गा । ओखलढुङ्गामा नेकपाका कमिटी एकिकरण गर्न कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले आइतबारबाट काम थालेको हो । पुर्व एमाले पार्टी कार्यालयमा आईतबार कार्यदलको बैठक बसी एकिकरण कार्यको थालनी गरेको हो ।

आईतबार भएको कार्यदलको बैठकले तत्कालीन नेकपा एमालेको जिल्ला कार्यालयलाई पार्टी कार्यालय बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टी कार्यालय सञ्चालन, सम्पति तथा संगठित सदस्यको अभिलेखिकरण गर्न नेत्रप्रसाद भट्टराई, खड्ग योगी, शंकर कट्वाल, विनोद सुनुवार, नरेन्द्र श्रेष्ठ र शम्भु धमला रहेको समिति गठन गरेको छ ।

आइतवार भएको कार्यदलको बैठकले जनवर्गीय तथा पेशागत संगठन एकिकरणका लागि मोहन श्रेष्ठ, बाबुराम गौतम, निशान्त शर्मा र शकुन्तला राजभण्डारी रहेको समिति गठन गरेको नेकपाका केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । गाउँपालिका तथा नगरपालिकाको कमिटी एकिकरणमा सदस्य सिफारिस गर्न गाउँपालिका तहमा ६ र नगरपालिका तहमा ८ सदस्यीय समिति निर्माण गरेको छ ।

जिल्ला पार्टीको एकिकरणका लागि सांसद एवम् नेकपाका केन्द्रिय सदस्य सुनुवारसहित बाबुराम गौतम, मोहन श्रेष्ठ, मोहन कुमार खड्का, नेत्र प्रसाद भट्टराई, शकुन्तला राजभण्डारी, खड्ग योगी र निशान्त शर्मा रहेको जिल्ला स्तरीय कार्यदल नेकपाले निर्माण गरेको थियो । अब नियमित बैठकबाट जिम्मेवारी तोकिएका समितिबाट आएका सिफारिसका आधारमा पार्टी स्थानीय तहदेखी जिल्ला तहसम्मको कमिटी एकिकरण हुने नेता नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।