नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

मंगलवारवाट ओखलढुङ्गामा नियमित उडान हुने

ओखलढुङ्गान्युज, असोज २२ ओखलढुङ्गा । नेपाल एयरलायन्सले ओखलढुङ्गामा हवाई उडानको तयारी गरेको छ । एयरलायन्सले ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडानको तयारी गरेको हो  । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल विमानस्थल असोज २३ गते मंगलबारदेखि पुनः सुरु हुने भएको हो ।

लामो समयको प्रयास पश्चात रुम्जाटारमा मंगलबारदेखि उडान गराउने सहमती भएको संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । दर्जनौ पटक मन्त्रालय र निगममा पुगेर ओखलढुङ्गामा नियमित उडान नहुदा नागरिकहरुले भोग्नु परेको समस्यावारे जानकारी गराउदा गराउदा बल्ल सफल भएको सांसद सुनुवारले बताउनुभयो । रुम्जाटारमा नियमित उडाका लागि मन्त्रालय र निगममा जाने क्रममा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो । मंगलवार देखी रुम्जाटारमा हुने नियमित उडालाई अबका दिनहरुमा व्यबस्थित बनाउन लागि पर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

रुम्जाटारमा नियमित उडान हुनेभएपछि जिल्लाबासी खुशी भएका छन् । मंगलवारदेखी हुने उडान नियमित भयो भने विशेषगरि स्थानीयहरुलाई नै फाईदा हुने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । चाडवपर्वको समयमा सवाी साधन रिजर्भ गरेर त्यसमाथि कोचिएर ओखलढुङ्गा आउनुपर्ने बाध्यता रहेका सर्बसाधारणलाई रुम्जाटारमा उडान भएपछि जिल्लामा र जिल्लाबाट काठमाण्डौं आवतजावत गर्न सहज हुने पनि प्रमुख श्रेष्ठले बताउनुभयो ।

ओखलढुङ्गाको रुम्जाटारमा रहेको विमानस्थलमा विगत दुईवर्ष देखी उडान नहुदा विमानस्थल बन्द थियो । स्थानीय तहको निर्वाचनका बेला बन्द रहेको रुम्जाटार विमानस्थल खुलाउने दलका नेताहरुले सार्बजनिक कार्यक्रममा नै बाचा गरेका थिए । विमानस्थल बन्द हुदा जिल्ला अस्पताल रुम्जाटारवाट काठमाण्डौं रिफर गरिएका विरामीहरुले १ लाख ५० हजार सम्म खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो ।

हेलिकप्टर चार्टर गर्न नसक्ने विरामीहरुले कि त ज्यान गुमाउनु पथ्र्यो, कि त साना गाडीमा जानुपर्ने बाध्यता छ । हवाई यातायातवाट करीब १ घण्टामा काठमाण्डौं पुग्न सकिन्छ भने गाडीमा यात्रा गर्दा कम्तीमा ७ घण्टा लाग्छ । रुम्जाटारमा नियमित उडान भएमा यात्रुहरुले करीब ५ हजारमा रुम्जाटार–काठमाण्डौं एकतर्फी यात्रा गर्न सक्नेछन् ।