नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा सिजन लागे पनि खुकुरी ब्यापार घट्यो

 

ओखलढुङ्गान्युज, असोज १८ ओखलढुङ्गा । ओखलढुंगा सदरमुकाममा लाग्ने शनिबारे तथा बुधबारे हटीयामा खुकुरीको ब्यापार घट्दै गएको छ । दशैंको सिजन सुरु भए पनि तयारी खुकुरी आए संगै खुकुरीको ब्यापार घटेको हो ।

विश्वकर्मा समुदायले आफ्नो पुख्र्यौली आरन पेशाबाट निर्माण गरेका खुकुरीहरु बिगत वर्षको भन्दा यो वर्ष दशै लागे पनि बिक्री नभएको मोलुङ्ग गाउँपालीका वडा नं. २ टेकनपुरका ईश्वर बहादुर विश्वकर्माले बताउनु भयो । मोलुङ्ग गाउँपालीकाको टेकनपुरमा २० घर भन्दा बढी विश्वकर्माहरुको बस्ती रहेका छन् । धेरैले आरन पेशा छाडी ब्यापार ब्यवसायमा लागे पनि आफुले यो पेशा निरन्तर गरीरहेको र पछिल्लो समय आरनले मात्रै परीवार चलाउन धौधौ परेको विश्वकर्माको भनाई छ ।

त्यस्तै गरी सिद्धिचरण नगरपालीका वडा नं ७ बिगुटारमा रहेका विश्वकर्मा समुदायका अधिकाँशले पुख्र्यौली पेशा छाडेर अहिले अन्य पेशा ब्यवसाय गर्न लागेको कारण आरन पेशा गर्ने मान्छे खोज्नु पर्ने भएको स्थानीय मेख बहादुर विश्वकर्माले बताउनु भयो । फलामलाई तताएर धेरै दुःख गरि बनाएको हतियारले बजार तथा बजार भाउ नपाएपछि उनीहरुले पेशा परिवर्तन गर्न थालेका हुन् ।

यस अघिका वर्षहरुमा हप्तामा दुईदिन लाग्ने हटीया बाट साप्ताहिक रुपमा ५ देखी ७ हजार आम्दानी हुने गरेको भए पनि यो वर्ष खुकुरी नबिकेको हटीयामा खुकुरी बिक्री गर्न आएका विश्वकर्माहरु बताउँछन् । ओखलढुङ्गा सदरमुकाममा लाग्ने हटियामा सदरमुकाम नजिकै रहेका विश्वकर्मा समुदायले खुकुरी, हँसिया, चुलेसी, कुटो, कोदालो, फाली लगाएतका फलामबाट निर्माण गरीने घरेलु हतियारहरु बिक्री गर्दै आएका छन् ।