नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

जेष्ठ नागरिकलाई सहुलियत कागजमा मात्रै, छैन सार्वजनीक यातायातमा

मनोज कुमार भट्टराई, असोज १२ गते । जेष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरुलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरुले नदिएको ओखलढुंगाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने यातायात साधनहरुले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरुको गुनासो छ ।

६० वर्ष उमेर पार गरी जेष्ठ नागरिक परिचयपत्र लिएका नागरीकहरुले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउनु पर्ने भए पनि ओखलढुङ्गमा जिल्लाबाट जिल्ला बाहिर र जिल्ला भित्रै सञ्चालन हुने कुनै पनि यातायात साधनहरुले जेष्ठ नागरिक परियचपत्रको अधारमा छुट नदिएको जेष्ठ नागरिक संघ ओखलढुङ्गाका अध्यक्ष जीवन शर्माले बताए ।

जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ को दफा ९ को उपदफा २ मा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसमिको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले जेष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छूट दिनुपर्नेछ भन्ने उल्लेख छ ।

ओखलढुङ्गाबाट सोलुखुम्वु, काठमाडौँ, कटारी, बिराटनगर लगायत जिल्ला बाहिर तथा जिल्ला भित्र चल्ने कुनै पनि यातायात समितिले यो सुबिधा नदिएको जेष्ठ नागरीक दयाराम धमलाले बताउनु भयो । जिल्ला सदरमुकाम ओखलढुङ्गामा रहेका यातायात व्यवसायीहरुसँग सम्पर्क गर्दा आपूmहरुले घाटामा यातायातका साधान चलाई रहेकोले यस्तो छुट दिन नसकिएको बताउँछन् ।

व्यबसायीहरुले ग्रामिण धुले सडकहरुमा जोखीम मोलेर गाडी चलाउनु परेका कारण पनि आफुहरुले छुट दिन नसकेको बताउँछन । ओखलढुङ्गा–कोषभञ्ज्याङ्ग–घोराखोरी रुटमा दैनीक आफुले यात्रु बोके पनि आज सम्म जेष्ठ नागरीकलाई छुट भने नदिएको बस संचालक सन्तोष गिरी बताउनु हून्छ । आज सम्म छुटको बिषयमा कोही कसैले छुटको कुरा नगरेको र जोखीम मोलेर ग्रामिण सडकहरुमा बस लैजानु पर्ने भएका कारण छुट दिन पनि सक्ने अवस्था नभएको गिरीको भनाई छ ।

जेष्ठ नागरिकहरुले सार्वजनिक यातायातका साधनमा सुबिधा नपाएको भन्ने वारेमा स्थानीय सभाको बैठकमा छलफल भएपनि त्यस विषयले खासै गाउँपालिकामा प्राथमिकता पाउन नसकेको सोच नेपालका जिल्ला संयोजक बोध नारायण श्रेष्ठले बताए । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गाको कुन्तादेवीमा पनि सोच नेपालले स्थानीय सभाको गठन गरेको छ । स्थानीय सभाको बैठकमा छलफल भएको जेष्ठ नागरिकहरुको विषयलाई गाउँपालिकाले नीति तथा कार्यबिधि नै वनाएर सम्बोधन गर्नुपर्ने श्रेष्ठको भनाई छ । स्थानीय सभामा उठान भएको यो विषयलाई चाडै गाउँपालिका तहमा हुने बैठकमा छलफलमा उठाउने तयारी गरेको पनि श्रेष्ठले बताए ।

काठमाण्डौसंग अरनिको यातायात सेवा समितिले ओखलढुङ्गाका पश्चिमी भेगका घोराखोरी, गाम्नाङ्गटार तथा रंगनी र खिजीफलाटेलाई जोडेको छ । यो क्षेत्रवाट पनि यात्रा गर्दा अरनिको यातायात समितीले पनि जेष्ठ नागरिकलाई छुट नदिएको गुनासो जेष्ठ नागरिकहरुले गरेका छन् । यात्रा गर्दा यातायातमा छुट नदिएको गुनासो आए पनि अरनिको यातायात सेवा समितिका अध्यक्ष श्यामकुमार लामाले भने यसलाएई स्वीकार गरेनन् । घरमा कार्ड राखेर आफुलाई जेष्ठनागरीक छुट दिनु पर्छ भन्नेहरुलाई छुट नदिएको बताउदै अध्यक्ष लामाले भने, ‘परीचय पत्र लिएर यात्रा गर्ने जेष्ठ नागरीकहरुलाई छुट दिने गरेका छौं, उमेर अथवा अनुहार हेरेर परिचयपत्र नभएकाहरुलाई चाही छुट दिएका छैनौं ।’

जिल्ला भित्र तथा बाहीर संचालनमा आउने यातायातका साधनहरुमा आफुले परीचय पत्र देखाउँदा राज्यले उपलब्ध गराएको छुट नदिएको उजुरी आफुकहाँ आएमा तत्काल त्यस्ता ब्यवसायीहरुलाई कारबाही गरीने सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलले बताउनु भयो । सहायक प्रजिअ पौडेलले भन्नुभयो, ‘अहिले सम्म कुनै त्यस्तो जानकारी आएको छैन, जानकारी तथा उजुरी नै नआएपछि कसरी कार्बाही गर्नु ? कानुनमा नै भएको कुरालाई सबैले मान्नु नै पर्छ ।’

जिल्लामा बिभिन्न समितिद्वारा संचालीत यातायातका साधनहरुले आरक्षण सीटहरु देखावटी रुपमा लेखेर नै राखेका छन् । सिटको भित्तामा लेखेर राखेको भए पनि बिद्यार्थी, अपांगता तथा महिला र जेष्ठनागरीकहरुलाई यात्रा गर्न भने समस्या रहि नै रहेको छ । ओखलढुङ्गामा गत चैत सम्म १ हजार ४१ जना जेष्ठ नागरीकहरुले परिचय पत्र लिएको तथ्यांक रहेको छ । ओखलढुङ्गामा अहिले अरनिको, माथील्लो सगरमाथा, हिमाल तराई, मध्यपहाडी, कुसुम, सिटिभिलेज, दुधकुण्ड, ओखलढुङ्गा यातायात, मध्यमोलुङ यातायात समितिहरुले यातायातको सेवा दिई रहेका छन् ।