नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मोलुङमा पम्पिङ प्रणालीबाट घरघरै धारा

ओखलढुङ्गान्युज, भदौ ३१ ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पम्पिङ प्रणालीवाट खानेपानीको जडान गरिएको छ । मोलुङ गाउँपालिकाको वडा नं। २ स्थित लामीडाँडामा पम्पिङ प्रणालीबाट खानेपानी आयोजना सञ्चालन गरिएको हो । योजना सम्पन्न भएपछि अहिले घरघरै खानेपानी पुगेको छ । घरघरमा नै धारा जोडेर पानी आएपछि स्थानीयहरु हर्षित भएका छन् ।

गाउँ नजिकै खानेपानीको मुहान नहुँदा यहाँका मानिसहरुलाई खानेपानीको समस्या हुने गरेको थियो । खानेपानीको मुहान गाउँमा नभएपछि करीब एक किलोमिटर तलबाट पम्पिङ प्रणाली जडान गरि खानेपानी वितरण गरिएको छ । खानेपानी अहिले ४८ घर परिवारलाई मात्रै वितरण गरिएको छ । उक्त खानेपानीको योजनावाट लामीडाँडा र अासपासका करीब १०० घरधुरी लाभान्वीत हुने मोलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टंक कार्कीले बताउनुभयो । योजनाको लागत करीब साढे ६ लाख रहेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । पानीका धारा घर आँगनैमा आएपछि सहज भएको स्थानीयले बताएका छन् ।

पम्पिङ प्रणालीको उक्त खानेपानीको आयोजना संचालन गर्न गाउँपालिका कार्यालय अन्तर्गत वडाबाट ४ लाख विनियोजन भएको थियो । तर गाउँपालिकाको बजेटले मात्रै योजना सम्पन्न हुन नसकी रकम अभावमा आयोजना अलपत्र अबस्थामा रहेको थियो । पछि प्रदेश सभा क का सांसद अम्बिरबाबु गुरुङले व्यक्तिगत रुपमा १ लाख ५० हजार र समाजसेवी प्रकाश दाहालले ५० हजार रुपैंया सहयोग गरेपछि आयोजना पुरा भएको आनेपानी आयोजना निर्माण समितिका संयोजक अशोक दाहालले जानकारी दिनुभयो । खानेपानीको आयोजना सम्पन्न गर्न स्थानीयले ४५ हजार बराबरको श्रमदान गरेका थिए ।