नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विकासका काममा पूर्ण जवाफदेही बन्ने मोलुङका जनप्रतिनिधीको प्रतिबद्धता

ओखलढुङ्गान्युज, भदौ २७ मोलुङ ।मोलुङ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी र सरोकारवालाहरुले गाउँपालिका भित्र हुने हरेक विकास निर्माणका कार्यक्रममा आफुहरु पूर्ण रुपमा जवाफदेही वन्ने प्रतिवद्धता जनाएका छन् । मोलुङ्ग गाउँपालिका कार्यालयमा मंगलवार भएको सामाजिक जवाफदेहीता सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधी तथा सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले ईच्छा र चाहना भयो भने असम्भावन भन्ने कुरा केही नभएको भन्दै त्यसको उदाहरणको रुपमा यो अभिमुखीकरणलाई लिनुपर्ने बताउनुभयो । कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा सोच नेपाललाई विशेष धन्यवाद दिदै कार्यक्रमको सहजीकरण गर्ने नेपानका गोविन्दराज पौडेललाई धन्यवाद दिनुभयो ।

परिवर्तनका कुरा आफैवाट सुरुवात गर्नुपर्ने भन्दै अध्यक्ष राईले सामाजिक जवाफदेहीता औजारको प्रयोग कसरी किन कहिले भन्ने विषयमा यो अभिमुखीकरणले सबैलाई सहज बनाएको बताउनुभएको थियो । यो तालिमले नागरिकहरुप्रति थप जिम्मेवार जवाफदेही बन्न सहयोग मिलेको भन्दै आगामी दिनमा गाउँपालिकामा हुने हरेक योजनाहरुमा आफूहरु पूर्ण रुपमा नागरिकहरुप्रति जवाफदेही वन्ने प्रतिबद्धता जनाउनुभयो । यो अभिमुखीकरण कार्यक्रम अत्यन्तै छोटो भएकोले केही समयमा नै गाउँपालिकाले नै यस्तो कार्यक्रमको आयोजना गर्ने र त्यसमा पनि सोच नेपाल र नेपानको तर्फवाट यसैगरि सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।

त्यस्तै मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि पौडेलले सरकारी सेवाको दौरानमा पहिलो पटक यस्तो महत्वपुर्ण अभिमुखीकरण कार्यक्रममा बसेर धेरै कुरा सिक्ने अबसर प्राप्त भएको बताउनुभएको थियो । आफूमा सिकाई भएको कुराहरुलाई गाउँपालिकाको आफ्नो कार्यक्षेत्रमा लागू गर्न प्रतिबद्ध रहेको र सहभागी सबैलाई त्यस विषयमा जिम्मेवार भएर लागिपर्न अनुरोध गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमको समापनमा मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ, वडा अध्यक्षहरुको तर्फवाट मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रदिप कुमार बानियाले प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै सहभागी माद्यमिक विद्यालयहरुको तर्फवाट रागाँदिप माद्यमिक विद्यालय रागादिपका प्रधानाध्यापक नेत्र प्रसाद भट्टराई, विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरुको तर्फवाट जीवन प्रदिप माद्यमिक विद्यालय हर्कपुरका अध्यक्ष कुल बहादुर खत्रीले सिकाईमा भएका कुराहरुलाई फिल्डमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनुभएको थियो ।

ओखलढुङ्गामा सोच नेपालले सञ्चालन गर्दै आएको नागरिक समाज-पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत मोलुङ गाउँपालिकामा मंगलवार सामाजिक जवाफदेहीता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हेमकुमारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत कृष्णहरि पौडेल, गाउँपालिकाका वडा अध्यक्ष ज्यूहरु, मोलुङ गाउँपालिका भित्र रहेका माद्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधी, माद्यमिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजनाका साझेदार संस्था नेपानका गोविन्दराज पौडेलले सहजीकरण गर्नुभएको थियो । अन्तरक्रियामा गाउँपालिकाले आगामी दिनहरुमा गर्ने कार्यक्रमहरुमा कसरी शुशासन तथा पारदर्शिता स्थापना गर्ने, नागरिकहरुप्रति जवाफदेही वन्न के के कसरी गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको थियो । त्यस्तैगरि गाउँघरमा निर्माण तथा कार्यान्वयन हुदै गरेका हरेक विकासे योजनालाई कसरी पारदर्शी बनाउने, ती योजना सञ्चालन तथा कार्यान्वयनको दौरानमा नागरिहरुलाई कसरी आफ्नो हो भन्ने महशुस गराउने, योजना प्रति सरोकारवाला र नागरिकहरुबिच एक आपसमा कसरी जवाफदेहीता कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।