नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विरोध र उजुरीका बाबजुद पनि विद्यालयमा कर्मचारी राख्ने परीक्षा सञ्चालन

ओखलढुङ्गान्युज, भदौ १९ ओखलढुङ्गा । अविभावकको विरोधका बाबजुद जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ५ मा रहेको राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कर्मचारी नियुक्ति सम्बन्धि परीक्षा भएको छ । शिक्षक छनौट प्रकृया अपारदर्शी भएको भन्दै अविभावक र परीक्षार्थीले परीक्षा स्थगित गर्न माग गर्दै केही दिन अगाडी निवेदन दिएका थिए । विद्यालय व्यवस्थापन समितिले यस अघि गरेको निर्णय विपरित परीक्षा सञ्चालन गरेर आफ्नो मान्छेलाई जागिर दिन लागिएको आरोप निवेदनमा उल्लेख छ ।

विद्यालयमै परीक्षा सञ्चालन गर्ने, लिखित र मौखिक परीक्षा पचास–पचास प्रतिशत अंकका आधारमा गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय पारीत गरेको थियो । तर त्यो निर्णयका विपरित प्रयोगात्मक २५ प्रतिशत अंकका आधारमा परीक्षा स्रोत केन्द्रमा गराउने तयारी भएपछि सिद्धिचरण नगरपालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गामा अभिभावक भेलाको निर्णय सहित उजुरी दर्ता गरेका थिए ।

परीक्षार्थीको योग्यता हेरिसकेपछि पाठ्यक्रम तय गरेर आफ्ना व्यक्ति राख्ने उद्देश्यले मापदण्ड परिवर्तन गरिएपछि अभिभावले आन्दोलन गर्नु परेको स्थानीय पोकल दाहालले बताउनुभयो । परिक्षामा सहभागी हुन आवेदन दिएकामध्ये जीवनाथ दाहाल, शम्भुप्रसाद दाहाल र विमला घिमिरे दाहालले शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी गरेर परीक्षा स्थगित गर्न माग गरेका थिए ।

परीक्षा संचालनमा देखिएको विरोधका बारेमा स्रोत व्यक्ति गोपिकृष्ण गौतमले अभिभावकहरुले जवरजस्ती गर्न खोजेकाले सुरक्षाका कारण परिक्षा केन्द्र सारिएको बताउनुभयो । विद्यालयमा नै परीक्षा सञ्चालन गर्न कम्प्युटर लगायतका सुबिधा नभएकोले श्रोत केन्द्र रुम्जाटारमा नै परीक्षा सञ्चालन गरिएको गौतमले जानकारी दिनुभयो ।

विरोध भएपनि चार सदस्यीय परीक्षा सञ्चालन समितिले प्रश्नपत्र निर्माण गरिसकेकोले परीक्षा लिएको र त्यसलाई लाहाछाप सहित सिलबन्दी गरी बुधवार शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गामा लगेर उत्तरपुस्तीका जाच गरी परीक्षाफल प्रकाशित गरिने विद्यालयका प्रधानाध्यापक नानीराज गुरुङले बताउनुभयो । परीक्षामा सहभागीहुन पाँच जनाले आवेदन दिएको भएपनि दुईजना मात्रै परीक्षामा सहभागी भएको पनि प्रअ गुरुङले बताउनुभयो ।

उजुरीका सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खगेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापन समितिलाई दिएको निवेदन बोधार्थ मात्रै आएको बताउनुभयो । विरोधका बाबजुद पनि शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधी मिश्रीलाल शाहको रोहवरमा परीक्षा सञ्चालन भएको छ । चारैजना परीक्षा समितिका सदस्यहरुले प्रश्नपत्र निर्माण गरि परीक्षा लिएको प्रधानाध्यापक गुरुङले बताएपनि स्थानीय र धेरैजसो परीक्षार्थीले परीक्षा बहिष्कार गरेको सन्दर्भमा परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने भन्दै आफु परीक्षा लिने कार्यमा सहभागी नभएको परीक्षा समितिका सदस्य देव कुमार दाहालले बताउनुभयो ।