नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

नेकपा ओखलढुङ्गाको जिल्ला कमिटी जम्बो, नेतृत्व अझै टुङ्गो लागेन

ओखलढुङ्गान्युज, भदौ ११ ओखलढुङ्गा । ओखलढुङ्गामा नेकपाको एक सय ३५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमती जुटेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेकपाको जिल्ला तह ओखलढुङ्गामा यती ठूलो जम्बो जिल्ला कमिटी बनाउने सहमती जुटेको हो  ।

दुवै तर्फका ९ जना पछि थप्ने गरी पूर्व माओवादी केन्द्रका ५८ जना र पुर्व एमालेका तर्फबाट ६८ जना जिल्ला कमिटीमा रहने गरी सहमती भएको नेकपाका नेता बाबुराम गौतमले जानकारी दिनुभयो । गौतम पुर्व माओवादी केन्द्रका पोलीटब्युरो सदस्य समेत हुन् । निति अनुसार एक सय ३५ सदस्यीय जिल्ला कमिटी बनाउने निर्णय भएपनि हाललाई एक सय २६ सदस्यीय जिल्ला कमिटी बनाउने सहमती भएको गौतमको भनाई छ । पछिल्लो समय ओखलढुङ्गामा  कांग्रेसबाट प्रवेश गरेका प्रभावशाली नेता र एकतामा सहभागी विशेष व्यक्तिलाई कमिटीमा समेट्ने सहमती भएको नेकपा ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला नेतृत्वका बिषयमा भने अझैपनि निर्णय हुन सकेको छैन । नेतृत्वको चयनका लागि जिल्ला तहको कार्यदलमा सहमती हुन नसकेपछि प्रदेश कार्यदललाई बुझाईएको छ । जिल्ला नेतृत्वको बारेमा भदौ १२ गते सम्म प्रदेश कार्यदलले टुङ्गो लगाउने छ । जिल्ला नेतृत्वमा अहिले पूर्व माओवादीको तर्फवाट बाबुराम गौतम, पूर्व एमालेको तर्फवाट नेत्र प्रसाद भट्टराई, नानीबाबु बुढाथोकी र हर्कबोल राईको नाम चर्चामा छ । चारै जनाले जिल्लाको नेतृत्वमा दावी गरेपछि जिल्ला कार्यदलले प्रदेश कार्यदललाई जिम्मा लगाएको हो ।

जिल्ला नेतृत्वको बारेमा प्रदेश कार्यदलले पनि टुङ्गो लगाउन सक्ने सम्भावना भने कम देखिएको नेकपाका एक जिल्ला नेताले बताएका छन् । प्रदेश कार्यदलले नेतृत्वको टुङ्गो लगाउन सकेन भने नेतृत्वको चयन गर्ने काम अध्यक्ष द्वय पुष्पकमल दाहाल र केपि वलीले गर्नुहुनेछ । यदी नेतृत्वको चयन गर्ने जिम्मा केन्द्रमा गएमा माओवादीको भागमा परे बाबुराम गौतम र एमालेको भागमा परे नानीबाबु बुढाथोकीले नेकपा ओखलढुङ्गाको जिम्मेवारी सम्हाल्ने छन् ।