नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

भिमसेनस्थान माविमा पहिरो, पठनपाठन गराउन समस्या

विवेश श्रेष्ठ, भदौ ८ नर्मदेश्वर । अविरल बर्षातका कारण जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ साविकको नर्मदेश्वर गाविस वडा नं. ६ मा रहेको भिमसेन स्थान माद्यमिक विद्यालयको परिसरमा पहिरो जादा पठन पाठनमा समस्या भएको छ । भवनको छेउमा पहिरो जादा विद्यालयको कक्षाकोठा भित्र विद्यार्थीलाई पस्न समस्या छ । विद्यालयको छेउमा गएको पहिरो र पर्याप्त कक्षा कोठाको अभावका कारण पठनपाठनमा समस्या भएको हो ।

जिल्लाभर नै प्राबिधिक पक्षलाई ध्यान नदिई खोलिएको सडकको प्रत्यक्ष असर उक्त विद्यालयमा परेको छ । करीब ८ महिना अगाडी मात्रै विद्यालयको करीव २० मिटर नजिक कान्ला मुनी डोजरको प्रयोग गरेर सडक खनिएको थियो । त्यसै सडकका कारण पहिो गएको स्थानीयहरुले आरोप लगाएका छन् । कक्षा १० सम्म पढाई हुने उक्त माद्यमिक विद्यालयमा हाल करीब २ सय १३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

पहिरोको कारण विद्यालयको दुईओटै व्लकको चार ओटै कोठामा विद्यार्थी राखेर पढाई सञ्चालन गर्ने अबस्था छैन । चारओटा कक्षामा नै समस्या भएपछि कक्षा कोठाको अभावका कारण दुईओटा कक्षामा भने जोखिम मोल्दै विद्यालयले पढाई सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेका कारण विद्यालयमा थप क्षति नहोस भनेर पहिरो गएको ठाउँमा पालले छोपेर राखिएको पनि प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, ‘विद्यालयमा थप कक्षा कोठा छैन । साना दुईओटा कक्षाका विद्यार्थीलाई जसोतसो गरेर अर्को कक्षामा व्यबस्थापन गरेका छौं । ठूला कक्षाका विद्यार्थीहरु भने अलिक बुझ्ने र सतर्क पनि रहन सक्ने भएकोले जोखिम मोलेरै भएपनि त्यही कक्षा कोठामा अध्यापन गराई रहेका छौं ।’ विद्यालयको दुईओटा कक्षाकोठामा भूकम्पले पुर्ण क्षति गरेको कारण उक्त दुईओटै ब्लकमा गत आर्थिक वर्षमा मात्रै करीब १४ लाखको लगानीमा विद्यालयको कक्षाकोठा मर्मत गरिएको थियो ।

पहिराेले क्षति गरेकाे विद्यालय भवन