नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

फलोअप : मृत अवस्थामा भेटिएका सन्तोषको हत्या भएको पुष्टि

मृतक सन्ताेष कार्की

विएन श्रेष्ठ, भदौ ७ ओखलढुङ्गा । मंगलबार दिउसो आफ्नै कोठामा मृत अवस्थामा भेटिएका २७ वर्षिय सन्तोष कार्कीको हत्या भएको पुष्टि भएको छ । सन्तोषको शवलाई रुम्जाटार अस्पतालमा पोष्टमार्टम गरिएपछि उनको हत्या नै भएको पुष्टि भएको हो । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ साविकको हर्कपुर गाविस वडा नं. ९ का कार्की आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मंगलवार बिहान सबै परिवार सगै खाना खाएर धान गोड्न निस्किएका परिवारका अन्य सदस्यहरु दिउसोपख घर फर्कदा सन्तोष आफ्नै कोठामा मृत अवस्थामा फेला पारेको पारिवारीक श्रोतले जनाएको छ । मृत अवस्थामा  भेटिएका सन्तोषलाई देख्दा परिवारका सदस्यहरुले आफै आत्महत्या गरेको अनुमान गरेका थिए । तर कोठाभरि रगत बगेको र छिर्काले भित्तामा पनि भिजेको देखेपछि गाउँलेहरु सग सन्तोषका परिवारहरुले हारगुहार गरेका थिए ।

एकैछिनमा गाँउलेहरु जम्मा भई प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय रामपुरको टोली मंगलबार बेलुका नै घटनास्थल पुगेको थियो । तर घटनाको प्रकृती शंकास्पद देखेपछि उक्त टोलीले केहि गर्न सकेन । बुधबार बिहानै पुन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माको टोली घटनास्थल पुगी घटनाको बिषयमा अनुसन्धान गरेको थियो ।

प्रहरीको टोली घटनास्थल पुग्नु अगाडी प्रहरीलाई भने मृतक युवकले आत्महत्या गरेको भन्ने सुचना आएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । तर स्थलगत रुपमा लासको प्रकृती हेर्दा मृतकका शरिरभरी चोटै चोटको निसानी रहेको र लास समेत रगतमा लत्पतिएको फेला परेपछि हत्याको आशंका गरिएको थियो । मृतक युवकको अगाडी पटि शरिरको भागमा ४–५ चोट र ढाडमा १०–१२ चोट लागेको थियो  । त्यसपछि प्रहरीले स्थानीय मुचुल्का गरि शबलाई पोष्टमार्टमका लागि रुम्जाटार जिल्ला अस्पतालमा पुर्याएको थियो । पोष्टमार्टम पछि युवकको हत्या नै भएको रिपोर्ट दियो ।

घटनाको बारेमा आवश्यक अनुसन्धानको प्रकृयालाई तिब्र रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । प्रहरी प्रमुख शर्माले भन्नुभयो,‘हामीले अनुसन्धानलाई तिब्र बनाएका छौं । केही सूचना पनि पाएका छौ । हामी केही दिनमा नै अपराधीलाई समात्न सफल हुन्छौ ।’

संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, नेपाली कांग्रेस ओखलढुङ्गाका तर्फवाट पाटी सभापति प्रदिप सुनुवार र पूर्व सांसद रामहरी खतिवडाले युवकको हत्याको विरुद्धमा विज्ञप्ती जारी गर्दै दोषिलाई यथासिघ्र पक्राउ गरि कडा भन्दा कडा कार्बाही गर्न माग गरेका छन् । मृतक युवकको शव पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ ।