नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

अवरुद्ध सडक तत्काल खुलाउन प्रजिअ न्यौपानेको निर्देशन

 अ‍ोखलढुङ्गान्युज, साउन ३१ ओखलढुङ्गा । वर्षातका कारण अबरुद्ध ओखलढुंगा–रुम्जाटार सडक तत्काल खुलाउन ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले निर्देशन दिनुभएको छ । निरन्तर वर्षातका कारण करीब दुईमहिना देखी ओखलढुङ्गा सदरमुकाम जोड्ने सडक अबरुद्ध छ । सदरमुकाम जोड्ने अवरुद्ध ओखलढुङ्गा–रुम्जाटार सडक बुधवार अनुगमन पश्चात प्रजिअ न्यौपानेले तुरुन्त खुलाउन निर्देशन दिनु भएको हो ।

बुधबार उक्त सडक खण्डको अनुगमनका लागि सिद्धिचरण नगरपालीका उपप्रमुख ईच्छा कुमारी गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्मा, आपतकालिन भूकम्पीय सहयोग जिल्ला आयोजना कार्यान्वयन ईकाईका ओखलढुङ्गा परियोजना प्रमुख विजयमुनी बज्राचार्य पुग्नु भएको थियो । त्यस्तै, सिद्धिचरण नगरपालीका वडा नं। ४ र ५ का जनप्रतिनिधि र ओखलढुङ्गामा कार्यरत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी–पत्रकारको संयुक्त टोली अनुगमनमा सहभागी रहेको थियो । संयुक्त टोलीले आज गरेको सडक अनुगमन पश्चात प्रजिअ न्यौपानेले अबरुद्ध सडक खुलाउन परियोजना तथा ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।

पानीका कारण जताततै पहिरो गएपछि यो सडक बिगत करीब दुई महिना देखी अबरुद्ध रहेको छ । सडकमा पहिरो गएको स्थानहरुमा पैदल हिड्न समेत नसकिने अवस्थामा रुम्जाटारमा रहेको जिल्ला अस्पतालमा बिरामी लैजान समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन् । अधिकांश सडक खण्डमा पानीले खोलेर खोल्साको रुपमा परिणत गर्दा यातातायातका साधन चल्न सक्ने अवस्था छैन भने एक दर्जन बढि स्थानमा पहिरो गएको छ ।

एसीयाली विकाश बैँक र स्वीस सरकारको सहयोगमा निमार्ण सुरु भएको ओखलढुङ्गा–रुम्जाटार सडक खण्डमा भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत काम थालिएको हो । ओखलढुङ्गा–रुम्जाटार सडकमा कालोपत्रेका लागि भत्काईएको सडकखण्डमा वर्षाको कारण देखाई दूई महिना देखी ठेकेदारले काम गर्न छोडेपछि पहिरो खसेर अवरुद्ध भएको हो ।

भुकम्प आपतकालीन सहायता आयोजना, जिल्ला आयोजना ईकाई ओखलढुङ्गाका परियोजना प्रमुख बिजयमुनी बज्राचार्यले ठेकेदार सम्पर्कमा रहेको बताए पनि बिगत दुई महिना देखी ठेकेदार सम्पर्क बाहीर रहेको र सडकको काम नभएको स्थानीयले आरोप लगाएका छन् । ठेकेदार कम्पनी र परियोजनाले सर्वसाधरणलाई गुमराहमा राखी सडक खुलाउन आलटाल गरेको समेत रुम्जाटार र बर्णालुका स्थानीयको आरोप छ ।

कालोपत्रेका लागि माटो फिलिङ गरेर वेश निर्माणको काम गर्दैगर्दा छोडिएको उक्त सडक खण्डमा माथिबाट झरेको पहिरोले सडक नै पुरेको छ । पहिरोले सडक नै पुरेपछि यातयातका साधनको त कुरै छाडौं पैदल हिडडुल गर्न समेत समस्या भएको सिद्धिचरण नगरपालीका वडा नं। ५ का वडा अध्यक्ष कुल प्रसाद दाहालले बताउनु भयो ।

कालोपत्रेको काम नभएपनि अवरुद्ध भएको सडकखण्ड तत्काललाई खुलाउन ठेकेदारलाई आग्रह गर्दा समेत अटेर गरेको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङ्गले बताउनु भयो । अहिले उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुँदा सिद्धिचरण नगरपालीकाको वडा नं। ४, ५ र चिसंखुगढी गाउँपालीकाको माम्खा कुईभिर तथा सोलुखुम्बुको केहीभागमा समेत यातयात अवरुद्ध भएको छ ।

‘यातायात अबरुद्ध हुदा सर्वसाधरण मारमा परेका छन् ।’ उपप्रमुख गुरुङले भन्नुभयो, ‘बाटो खुलाउन ताकेदा गर्दा समेत ठेकेदारले सुनुवाई नगरेको छैन, बर्षामा समेत काम नरोक्ने भनेर काम थाले पनि अहिले ठेकेदारले काम रोकेपछि जनता समस्या परिरहेको छ ।’

एसीयाली विकाश बैँक र स्वीस सरकारको सहयोगमा निमार्ण सुरु भएको यस ओखलढुङ्गा–रुम्जाटार सडक खण्डमा भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत काम थालिएको छ ।  पनि बिगत लामो समय देखी संचालनमा आईरहेको उक्त सडकमा सडक परीयोजना र ठेकेदार कम्पनिले काम गर्न छाडेपछि ओखलढुङ्गा पुर्वका स्थानीयहरु मारमा परेका छन् । सडक अबरुद्ध हुँदा ओखलढुङ्गा पुर्वमा खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या आएको छ ।