नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बर्षाको कारण ओखलढुङ्गाका अधिकांस सडक अबरुद्ध

ओखलढुङ्गान्युज, साउन २८ ओखलढुङ्गा । निरन्तर वर्षतका कारण ओखलढुङ्गाका अधिकांस ग्रामीण सडकहरुमा आवतजावत अबरुद्ध भएको छ । वर्षतका कारण ठाँउठाँउमा पहिरो झरेपछि ओखलढुंगा रुम्जाटार सडकखण्डमा पुर्ण रुपमा अवरुद्ध भएको छ ।

वर्षातका कारण नै ओखलढुङ्गाबाट रामपुर, प्राप्चा, श्रीचौर, कोषहाट, फलाटे, च्यानम जाने यातायातका साधनहरुसगै यात्रुहरु अलपत्र परेका छन् । पानीका कारण जताततै पहिरो गएको छ भने पहिरो नगएको स्थानहरुमा पनि कतै सडक हिलाम्मे भएर त कतै पानीले सडक खोलेर यातातायातका साधन चल्न नसक्ने बनाएका छन् । त्यस्तैगरि ओखलढुङ्गवाट पूर्व कुईभिर, दियाले, भदौरे , रबुवा, निशंखेभज्याङ्ग चल्ने यातायातका साधनहरु पनि अबरुद्ध भएको छ ।

पहिरोका कारण यातायात अवरुद्ध बनेपछि सवारी चालकहरु आफैले सामान्य मर्मत गर्दै जोखिमपूर्ण रुपमा यातायातका साधनहरु चलाई रहेका छन् । यातायात अबरुद्ध बनेपनि वर्षातका कारण अन्य कतै क्षतिको विवरण भने नआएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो । केही दिन अगाडी प्रशासनमा भएको बैठकले नै निर्णय गरि विग्रीएको सडकका कारण मानविय क्षति समेत हुनसक्ने भन्दै केही स्थानहरुमा चाही यातायातका साधन चलाउन केही दिनलाई बन्देज नै गरिएको पनि प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।

ओखलढुङ्गा रुम्जाटार सडकमा कालोपत्रेका लागि भत्काईएको सडकखण्डमा वर्षाका कारण ठेकेदारले काम गर्न छोडेपछि पहिरो खसेर अवरुद्ध भएको छ । कालोपत्रेका लागि माटो फिलङ गरेर वेश निर्माणको काम गर्दै गर्दा छोडिएको उक्त सडक खण्डमा माथिबाट झरेको पहिरोले सडक नै पुरेको छ । कालोपत्रेको काम नभएपनि अवरुद्ध भएको सडकखण्ड तत्काललाई खुलाउन ठेकेदारलाई आग्रह गर्दा समेत अटेर गरेको स्थानियको आरोप छ । अहिले उक्त सडकखण्ड पनि पूर्ण रुपमा बन्द छ ।

बाटो खुलाउन ताकेदा गर्दा समेत ठेकेदारले सुनुवाई नगरेको सिद्धिचरण नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङले बताउनुभयो । बर्षामा समेत काम नरोक्ने भनेर काम गरेकोमा अहिले ठेकेदारले काम रोकेको छ ।

एसीयाली विकाश बैँक र स्वीस सरकारको सहयोगमा निमार्ण सुरु भएको यस ओखलढुङ्गा–रुम्जाटार सडक खण्डमा भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत काम थालिएको हो । हाल यस सडकखण्डमा वर्षा लागेको बहानामा निर्माण कम्पनीले सडक चौडा बनाउन खनेको माटो र ढुंगा समेत अलपत्र परेर सडमै छोडेका छन् ।