नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गावाट प्रजिअ पन्तको विदाई

विवेश श्रेष्ठ, साउन १६ ओखलढुङ्गा । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई ओखलढुङ्गाबाट विदाई गरिएको छ । सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी पन्तलाई कर्मचारी मिलन केन्द्र ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । विदाई कार्यक्रममा सहभागीहरुले प्रजिअ पन्तलाई मायाको चिनो सहित ओखलढुङ्गावाट विदाई गरेका हुन् ।

२०७४ भाद्र १ गतेबाट जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर ओखलढुङ्गा आउनुभएका प्रजिअ पन्तको गत बुधबार सरुवा भएको थियो । प्रजिअ पन्तलाई गृह मन्त्रालयले ओखलढुंगाबाट चितवन सरुवा गरेको हो । गृह मन्त्रालयले सरुवा गरेको एकहप्ता पछि पन्तलाई विदाई गरिएको हो ।

ओखलढुङ्गामा प्रजिअको रुपमा हाजिर भएसगै पन्तले जिल्लामा निकै सकृयताका साथ शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रवाहमा जोड दिनुभएको थियो । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचन सफल बनाउन निकै सकृय भएर लागि परेका पन्तले जिल्ला प्रशासन कार्यालय व्यवस्थापनमा निकै सुधार गरेका छन् ।

 

प्रजिअ पन्तले जिल्ला प्रशासन कार्यालयमा आवाज सहितको नागरिक वडा पत्र, नागरिक सहायता कक्ष, तालिम तथा बैठक हल र प्रतिक्षालयको व्यबस्थापन गर्न सफल भएका छन् । त्यस्तै सेवाग्राहीले आफ्नो कामका लागि प्रतिक्षा गर्दा बोर नलागोस भनेर टेलिभिजन हेर्ने र बालबालिकालाई राख्ने ठाउँको पनि व्यबस्थापन गर्नुभएको छ । बच्चा भएका सेवाग्राहीको सहजताका लागि प्रशासन भित्रै स्तनपान कक्षको समेत व्यवस्था गराउनुभएको छ ।

नागरिकको काम सहज र सरलढंगले गर्न मातहतलाई कडा रुपमा निर्देशन दिने पन्तले सिद्धिचरण नगरको सरसफाईमा सुरक्षाकर्मी र सरोकारवालाको साथ लिँदै नागरिक सहभागिता बढाउन पनि निकै प्रयास गरेका थिए । पन्तको कार्यकालमा ओखलढुङ्गामा थुप्रै नयाँ र उपलब्धिमुलक कामहरु भएका छन् ।

पन्तले प्रजिअको जिम्मेवारी लिएर ओखलढुङ्गा आए लगतै गरेको पत्रकार सम्मेलनमा आफु कुनै पनि राजनितिक दल तथा माथिल्लो निकायको प्रभावमा नपरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । चुनावका वेला समेत राजनितिक दल तथा अन्य क्षेत्रवाट आएका दबाबहरुलाई झेल्दै जिल्लामा भउको निर्वाचनलाई शान्तिपूर्ण रुपमा अबतरण गराउन सफल भएका छन् । अन्य सबै काममा ओखलढुङ्गामा प्रजिअ पन्त सफल बने पनि जिल्लामा निजी प्लेटका सवारी साधनको प्रयोग गरि भाडामा काम गर्ने सवारी साधनलाई भाडाको साधनको रुपमा दर्ता गराउने कार्यको प्रयासमा भने विगतका प्रजिअ झै सफल भने हुन सकेनन् ।

पन्तको विदाई सगै ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी भएर गृह मन्त्रालयबाट मुनका न्यौपाने आउनुभएको छ । न्यौपाने मंगलवार ओखलढुङ्गा आएर बुधवार देखी कार्यालय सम्हाल्ने भएपछि मंगलवार पन्तको विदाई गरिएको हो ।