नेपाली समय Loading...२०७८ आश्विन ३१ आईतवार

आज साउन १५ अर्थात खिर खाने दिन

ओखलढुङ्गान्युज, साउन १५ ओखलढुङ्गा । आज साउन १५ । अर्थात खिर खाने दिन । आज नेपालीहरुले रोपाई सकिएको अुशियालीमा विश्राम लिदै खिर पकाएर खाने गर्छन । दूधभात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोगडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे, वर्तमानमा महत्वका साथ बनाईने गरिन्छ । यो खिर नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । सालको वा भोर्लाको ठुलाठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया टपरी, दूनामा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद फरक हुन्छ ।

मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध रहदै आएको छ । यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण रही यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो ।

सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ । त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आयुर्वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ ।

खिर शब्दपनि संस्कृत शब्द क्षिरमाबाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने थियो । यसलाई पायस तथा कतैकतै यसलाई तस्मै पनि भन्ने गरिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।

सत्य युगमा हिन्दुहरुका भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि काठमाण्डौका विभिन्न मन्दिरहरुमा दीनदुखिहरूलाई खिर पकाएर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ ।

दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् । जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् हरियो घाँस समयमा नै खान पाएपछि पशुहरुले प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ । तर पछिल्लो समय पशुपालन गर्ने कृषकको संख्यामा कमी हुदै आएका कारण खिर खाने प्रचलनमा पनि कमी हुन थालेको छ ।