नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

‘गुणस्तर हिन काम गरेको पाए तत्काल कार्बाही गर्छु’ नगरप्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, असार ३१ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७४÷७५ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  गरेको छ । जिल्लामा रहेका आठ स्थानीय तह मध्ये एक आर्थिक वर्षमा तिनओटा सार्वजनिक सुनुवाई गर्ने पहिलो नगरपालिका बनेको छ । जिल्लामा रहेका अन्य स्थानीय तहले आफ्नो औपचारीक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको कुनै सार्बजनिक गरेका छैन ।

सार्वजनिक सुनुवाईलाई जिल्लाका स्थानीय रेडियोहरुले समेत सार्वजनिक गरेका थिए । कार्यक्रममा नगरपालिकाका सहभागी नागरिकरुले नगरपालिकामा भएका सरसफाई तथा विकास निर्माणमा भएका समस्याका बारेमा प्रश्न गरेका थिए । त्यस्तै नगरपालिकाको क्षेत्रमा निर्माण भैरहेको सिद्धिचरण नगरपालिकाको वडा नं. ११ रमाईलोडाडामा निर्माणाधिन अवस्थामा रहेको सडकको निर्माण गुणस्तर हिन भएकोले त्यलाई तत्काल अनुगमन गरि कार्वाही गर्न माग गरेका थिए ।

नागरिकहरले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख मोहन कुमार श्रेष्ठले त्यसको भोली नै अनुगमन गरि गुणस्तरहिन तरिकाले नै निर्माण कार्य भैरहेको पाइएमा आवश्यक कार्वाही प्रकृया अघि बढाईने प्रतिबद्धता जनाउनु भयो । नागरिकहरुले नगरपालिकाले नगरपालिका भरि सञ्चालन भएका कार्यक्रमको अनुगमन नाममात्रै भएको भन्दै अनुगमनमा देखिएका कुराहरुलाई कडाईका साथ आवश्यक कार्बाहीको दायरामा लयाउन माग गरेका थिए । त्यसको जवाफ दिदै नगरप्रमुख श्रेष्ठले नागरिकको गुनासो जस्तो अनुगमन नभई यस पटकको अनुगमनको बारेमा समिक्षात्मक कार्यक्रमको आयोजना गरि चाडै सार्वजनिक गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

जिल्लाका विभिन्न स्थानीय तहमा यातायातका साधनहरु चलेपनि यातायातका साधनहरुको भाडादर एक रुपता नभएको भन्ने नागरिकको गुनासोलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलले त्यसको बाररेमा तत्काल बुझि आवश्यक कार्वाही प्रकृया अघि बढाउने बताउनुभयो । त्यस्तै जिल्लामा अन्य कुनै पनि विषय वा जिल्ला प्रशासन सग सम्बन्धित कुनै विषय भएमा निशंकोच जिल्ला प्रशासनमा जानकारी गराउन अनुरोध गर्दै त्यसका लागि जिल्ला प्रशासन सदैव नागरिकको साथमा रहने बताउनु भयो ।

त्यस्तै जिल्लामा निर्माणाधिन अवस्थामा रहेका भूकम्प लाभग्राहीहरुको निजी आवासका लागि आउने अनुदानको रकम ढिलाई भएको तथा निर्माण सम्पन्न भैसकेका घरको रकम लिन पनि प्राबिधिकहरुले विविध बहानामा झुलाएको भन्ने नागरिकहरुले गुनासो गरेका थिए । नागरिकका गुनासोलाई सम्बोधन गर्दै भूकम्प पूननिर्माण प्राधिकरण कार्यालय जिल्ला कार्यान्वयन ईकाई ओखलढुङ्गाका प्रमुख विजयमणी बज्राचार्यले अहिले सम्म त्यस्तो नभएको भन्दै यदी कुनै प्राबिधिकले नियतले  दुख दिने काम गरेको भए तत्काल कार्बाहीको प्रकृया अघि बढाउने जनाउनुभयो ।

सार्वजनिक कार्यक्रमको सिद्धिचण नगरपालिकाले आयोजना गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहआयोजक भने ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल रहेको थियो । सार्वजनिक सुनुवाई सञ्चालनको दौरानमा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल र सोच नेपालले नागरिकहरुको नगरपालिका सगको सन्तुष्टि तथा असन्तुष्टिका सन्दर्भमा सेवाग्राहीहरुसगको मत संकलन गरेको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले पाँच बुदे सार्बजनिक प्रतिबद्धता समेत गरेका छन् ।