नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

छोरी मात्र भएका परिवारलाई सिद्धिचरण नगरपालिकाले प्रोत्साहन गर्ने

रामहरि श्रेष्ठ, असार ३० ओखलढुङ्गा । ओखलढुङ्गाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले छोरी मात्र भएका परिवारलाई प्रोत्साहन गर्ने भएको छ । नगपालिकाले आफ्नो वार्षिक निती तथा कार्यक्रम बनाएर नै छोरी मात्रै भएका परिवारलाई प्रोत्साहन गर्ने भएको हो । नगरपालिका भित्र रहेका दुई वा दुई भन्दा बढी छोरीमात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान गरिने नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रममा उल्लेख छ ।

समाजमा अझैपनि छोराकै आवश्यकता महशुष गर्ने बिद्यमान अवस्थालाई चिर्न यस्तो कार्यक्रम समाबेश गरीएको नगरपालिकाकी उपमेयर ईच्छा कुमारी गुरुङले बताउनुभयो । समुदायमा छोरी भएकै कारण हिनताबोध गर्ने अवस्थालाई निरुत्साहीत गर्न यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ । नगरपालिकाले दुई वा दुई भन्दा बढी छोरीमात्र भएका परिवारलाई प्रोत्साहान गर्ने कार्यक्रम सम्भवत जिल्लाका आठै स्थानिय तहमा पहिलो रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको निती तथा कार्यक्रम अन्तरगत सामाजीक सुरक्षा शीर्षक अन्तरगतको ९ नम्बर बुँदामा यो कार्यक्रमलाई समेटिएको छ । छोरी मात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम निक्कै नै स्वागत योग्य रहेको सरोकारवालाले बताएका छन् । प्रोत्साहन कार्यक्रमले छोरीमात्र भएका परिवारमा उत्साह थपिएको छ । नगरपालिकाको निती तथा कार्यक्रममा यो विषय समेटिए सगै क्रमश छोरी मात्रै भएका परिवारहरुमा उत्साह सञ्चार हुने अपेक्षा गरिएको छ ।