नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सुनकोसी गाउँपालिकामा पहिरोले खाेला थुन्यो, १४ घर तामाङ बस्ती जोखीममा

विवेश/ रामहरि श्रेष्ठ, असार ३० कटुञ्जे । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीमा पहिरो जाँदा खोला थुनिएको छ । खोला थुनिदा नजिकै रहेका १४ घर तामाङ बस्ती जोखीममा परेको छ । शुक्रवारदेखिको निरन्तरको बर्षाका कारण गाँउमाथीबाट जोराल डाडाँ पहाड खसेर बैशाखे खोलमा थुप्रिदा उक्त क्षेत्रका १४ घर परिवार जोखिममा परेका हुन् ।

खोलामा पहाड खसेर थुप्रिएपछि खोला थुनिएको र खोलाले स्थानियको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानिय कर्ण बहादुर तामाङले जानकारी दिनुभयो । पहिरो स्थानियको घर छेउसम्मै आईपुगेको उहाँको भनाई छ । १४ घर स्थानिय मध्ये केहीको सौचालय तथा कटेरा समेत बगाएको छ । हाल उक्त क्षेत्रमा गाँउमाथीबाट नवलपुरघाट दुधकुण्ड सडकको ट्रयाक खनिदै छ ।

पहाडको बाटो भएर ट्रयाक खनिएकाले पहिरो गएको स्थानियको भनाई छ । खोला कटान तथा पहिरोका कारण स्थानिय कर्ण बहादुर तामाङ, सुवाससिङ तामाङ, लाक्पा तामाङ, पुर्ण बहादुर तामाङ, हर्क बहादुर तामाङ र डम्बर बहादुर तामाङको घर जोखिममा परेको छ । त्यस्तै सोही स्थानका रत्न बहादुर तामाङ, धनमाया तामाङ, पेमामाया तामाङ, दमाई तामाङ, चिनिमाया तामाङ, जोते तामाङ, जानुमाया तामाङ, पेमामाया तामाङ तथा पदममाया तामाङको घर समेत जोखिममा परेको स्थानियले बताए ।

माथीबाट नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको हुनसक्ने सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष झनक कार्कीले बताउनुभयो । त्यहाँ पनि माथीबाट ट्रयाक खनिएकाले पहिरो बगेर खोला थुनिदाँ उक्त खोला गाउँ पसेको उहाँको भनाई छ ।

पहिरो स्थानियको घरको सुर सम्मै आईपुगेको छ । अहिले त्यहाँका स्थानियले आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरिरहेका छन् । पहाड खसेर खोला थुनिएकाले खोला आसपासका स्थानमा पहिरो जाने त्रास फैलिएको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो ।

घटना बारे जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निर्देशनमा प्रहरी चौकी कोषहाटको प्रहरी टोली त्यहाँ पुगेको थियो । उक्त क्षेत्रमा प्रहरीको टोली पुगी पहिरो पिडित परिवारलाई तत्काल सुरक्षीत स्थानमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । अहिले पिडितलाई सुरक्षित स्थानमा बस्नका लागी गाउँपालिकाले १५ थान त्रिपाल पठाएको छ । उनिहरुलाई सुरक्षीत स्थानमा बस्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

शनिवार दिउसो खोला खुलेपनि शनिवार अपरान्हवाट परेको पानीको कारण फेरी त्यहाँको बस्तीमा समस्या सुरु भएको छ । शुक्रबारदेखी थुनिएको खोला शनिवार खुलेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । ‘खोला थुनिएको क्षेत्रमा प्रहरी पुगी अहिले फर्किएको छ । अहिले सम्म कुनै क्षति भने भएको छैन । माथिवाट सडक खनिएको र ठूलाठूला रुख सहित पहिरो खसेकोले समस्या हुन सक्छ । त्यसलाई रिक्स जोनको रुपमा लिएर निरन्तर निगरानी गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो ।