नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा युवा समितिवाट युवा स्वरोजगार कार्यक्रम सञ्चालन

ओखलढुङ्गान्युज, असार २७ ओखलढुङ्गा । जिल्ला युवा समिति ओखलढुङ्गाले बुधवार पत्रकारहरु सग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आफ्नो गतिबिधी सार्वजनिक गरेको छ । ओखलढुङ्गामा कार्यालय स्थापना भएपश्चात आर्थिक वर्ष २०७४/७५ को अन्तिम सम्म जिल्लामा गरेका कार्यक्रमहरुको सार्वजनिक गरेको हो ।

कार्यक्रमहरुको बारेमा जानकारी दिदै जिल्ला युवा समिति ओखलढुङ्गाका अध्यक्ष सुधिर कार्कीले करीब दुईवर्षको अबधिमा जिल्ला युवा समितिले गरेका कार्यक्रमहरु उपलब्धी मूलक रहेको बताउनुभयो । जिल्ला युवा समितिले सञ्चालन गरेका शिपमूलक कार्यक्रम मार्फत करीब एक दर्जन युवाहरुले आफ्नै व्यबसायको सुरुवात गर्न थालेका छन् ।

जिल्ला युवा समितिको सहयोगमा नेपाल सरकारवाट प्राप्तभएको स्वीकृत कार्यक्रम अनुसार जिल्ला युवा समितिले जिल्लाका प्रतिभावान युवाहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रम अनुसार गत आ.व. मा जिल्ला युवा समितिले एक जनालाई मात्रै सम्मान गरेको थियो भने पछिल्लो आ.व.मा विधागत क्षेत्रका आधारमा चारजना युवाहरुलाई पुरस्कृत गरिने पनि जनाएको छ ।

नेपाल सरकारको एक वडा दश युवा स्वरोजगार कार्यक्रम अनुसार गत आ.व. मा निर्वाचन क्षेत्र नं. १ को रागादिप र क्षेत्र नं. २ को विलन्दुमा कार्यक्रम स्ञ्चालन भएका छन् । रागादिपका जीत कुमार राई र विलन्दुका महेश सुनुवारलाई युवा स्वरोजगार कोषको रकम उपलब्ध गराईएको थियो । युवा स्वरोजगार कार्यक्रम अनुसार विनाधितो, निव्र्याजी प्रति कार्यक्रम रु ५ लाखका दरले रकम उपलब्ध गराईएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो । यस आ.व. मा पनि सिद्धिचरण नगरपालिका वडा नं. ३ का शुशिला खनाल र चिशंखुगढी ६ भदौरेका एक युवालाई विनाधितो नगद ५/५ लाख उपलब्ध गराईएको छ ।

अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले शिक्षित जनशक्तिलाई बिदेशीनवाट रोक्ने खालका कार्यक्रमहरुपनि युवा समितिले सञ्चालन गर्नुुपर्ने भन्दै स्थानीय स्तरमा प्राप्त हुने रोजगारीका कार्यक्रमहरुमा स्थानीय युवाहरुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । बुधवार नै जिल्ला युवा समिति ओखलढुङ्गाले जिल्लाका स्थानीय युवाहरुलाई सहभागी गराएर ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्धमी युवा’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।