नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मानवअधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

ओखलढुङ्गान्युज, असार २५ ओखलढुङ्गा ।  मानवअधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रममा छलफल गर्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले इन्सेकले स्थानीय तहका न्यायिक समितिहरुसँग समन्वय गरेर काम गरे सहज हुने बताउनुभयो । ईन्सेकको गतिबिधीलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा उहाँको जोड थियो । प्रमुख श्रेष्ठले सञ्चारमाध्यमबाट न्याय सम्पादनका विषयमा सुझाव र प्रतिक्रिया दिएर कार्यसम्पादनलाई सहयोग गर्न आग्रह गरे । हिंसाका घटनामा मिलापत्र हुने गरेको प्रसंगमा मिलापत्रले सामाजिक सद्भाव र न्याय दिनु पर्ने बताउदै मिलापत्रले न्याय दिदैन भने त्यो चाहीँ अन्याय हो भएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मानवअधिकार हनन्का घटना उजागर गरेर हल्ला गर्नेभन्दा न्याय निरुपणको बाटो देखाउने काममा पत्रकार र मानवअधिकारर्मी लाग्नु पर्ने सुझाव दिनुभयो । प्रजिअ पन्तले जिल्लामा मानवअधिकारका घटनाहरुको अभिलेखिकरण गरेर सार्वजनिक गर्ने कामले सरोकारवालाहरुलाई झकझक्याउने भन्दै इन्सेकलाई अब परिवर्तित अवस्था अनुसार संरचना तयार गरि स्थानीय तहमा काम गर्न सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक शरण दाहालले महिला हिंसाका धेरै घटनामा मादक पदार्थ सेवन गरेर पत्निमाथि कुटपीट हुने गरेको बताए । मादक पदार्थ सेवन गर्ने संस्कृति परिर्वतन गर्न सबैले प्रयत्न गर्नु पर्ने बताउनुभयो । त्यस्तै नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ ओखलढुङ्गाका प्रतिनिधी अधिवक्ता मेघहरि आचार्यले इन्सेकको अभियानको प्रसंशा गर्दै गाउँतहसम्म अभियान पु¥याउन सुझाव दिनुभयो ।

कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राईले इन्सेकले अर्धवार्षिक रुपमा पनि तुलनात्मक अध्ययन गरेर प्रतिवेदन ल्याएमा थप प्रभावकारी हुने बताउनुभएको थियो । छलफलका क्रममा सहभागी सञ्चारकर्मीहरुले हिंसाका घटनाको नियन्त्रणका लागि आ–आफ्नो सञ्चार माध्यमवाट थप जनचेनामूलक कार्यक्रम तथा सूचना, समाचार सम्प्रेषण गर्ने बताएका थिए ।

छलफलमा इन्सेकका ओखलढुङ्गा प्रतिनिधी शिवप्रसाद ढुंगानाले ६ महिनाको अवधिमा ओखलढुङ्गामा भएका घटनाहरुको अभिलेख प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार ओखलढुङ्गामा एक हत्या, दुई बलात्कार एक बलात्कार प्रयास, बोक्सीको आरोप दुई र घरेलु हिंसाका घटना १४ भएको उल्लेख छ ।