नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

पत्रकार महासंघले स्थानीय तहलाई ज्ञापनपत्र बुझायो

ओखलढुङ्गान्युज, असार ८ ओखलढुङ्गा । नेपाल पत्रकार महासंघले ओखलढुङ्गाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । महासंघको १ नं. प्रदेश समितिले ओखलढुङ्गा लगायत प्रदेश भित्रका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको हो । स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई समानुपातीक उपलब्ध गराउन लगायतका माग गर्दै महासंघले प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको हो ।

प्रदेश समितिको बैठकले सञ्चार क्षेत्रका विभिन्न समस्या समाधानको लागि प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरे अनुसार ज्ञापनपत्र बुझाईएको महासंघका प्रदेश समिति सचिव बुद्धबीर वाहिङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न माग समेटिएको ज्ञापनपत्र प्रदेश समितिले मुख्यमन्त्री शेरधन राईलाई यस अघि नै बुझाईसकेको छ ।

विहिबार प्रदेशका सबै स्थानीय तहमा महासंघको जिल्ला शाखासँगको समन्वयमा महासंघले एकसाथ स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन, स्थानीय तहको सूचनामा पत्रकारको सहज पहुँच उपलब्ध गराउन र पत्रकारिताको विकासमा सहयोग गर्ने बजेट तथा कार्यक्रम ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

महासंघको ओखलढुङ्गा शाखाले सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका कार्यबाहक अध्यक्ष शिबप्रसाद ढुंगानाले प्रमुख श्रेष्ठलाई पत्र बुझाएका हुन् । पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले सञ्चार र सुचनामैत्री नगर निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिद्धिचरण नगर सञ्चार निति बनाउने तयारीमा जुटेकाले महासंघले अघि सारेका मागहरु नितिगत रुपमै सम्बोधन गर्ने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।