नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

पक्राउ परेका बोर्डिङ सञ्चालक धरौटीमा रिहा

ओखलढुङ्गान्युज, असार ७ ओखलढुङ्गा । गत शुक्रवार पक्राउ परेका बोर्डिङ स्कूलका सञ्चालक बलराम कटवाल र प्रिन्सिपल दुर्गा सुब्बा धरौटीमा रिहा भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछाप निशंखेमा दर्ता नै नगरी निजी विद्यालय सञ्चालन गरेको आरोपमा गत शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोलीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत ओखलढुङ्गाले उनीहरुलाई धरौटीमा रिहाई गरेको हो । गैरकानुनी रुपमा विद्यालय चलाउँदै आएका कुरुकुल एकेडेमीका सञ्चालक बलराम कट्वाललाई ५१ हजार र बोर्डिङका प्रिन्सिपल दुर्गा लिम्बुलाई ११ हजार धरौटी रकम लिई छुटेका हुन् ।

शिक्षा ऐन ०७४ (नवौं संसोधन) को दफा १७ को १ ‘क’ अनुसार अबैध रुपमा शैक्षिक गतिविधी सञ्चालन गरेको अभियोगमा मुद्दा दर्ता गरि धरौटीमा छोडिएको जिल्ला अदालत ओखलढुङ्गाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो । कट्वालले दर्ता नगरी शैक्षिक सत्र ०७५ को शुरुबाटै गुरुकुल ऐकेडेमीमा प्ले ग्रुप देखि कक्षा चार सम्म पठनपाठन संचालन गरेका थिए । गैर कानुनी रुपमा विद्यालय सञ्चालन गरेको उजुरी स्थानीयले असार २ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेका थिए । उजुरीका आधारमा प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको थियो ।

अबैध रुपमा संचालन गरेको विद्यालय सञ्चालक बिरुद्ध कानुनी कारवाही शुरु भए पनि दर्ता नभएको विद्यालय भने अझै सञ्चालन भइरहेको छ । राजनीतिक पहुँचका आधारमा गैरकानुनी रुपमा संचालन भएको विद्यालय बन्द गर्नुपर्ने सरोकारवालाको भनाइ छ । गैरकानुनी भनेर मुद्दा चलेपनि स्थानीय प्रशासन र नगरपालिकाले विद्यालय बन्द भने गराएको छैन । पक्राउ परेका दुवैको समर्थनमा उनीहरुको विनाशर्त रिहाईको माग गर्दै अविभावकहरुले जिल्ला प्रहरी कार्यालय र नगरपालिकामा आन्दोलन समेत गरेका थिए ।