नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा बोर्डिङ सञ्चालन गर्ने २ जना पक्राउ

ओखलढुङ्गान्युज, असार २ ओखलढुङ्गा । ओखलढुङ्गामा बोर्डिङ सञ्चालन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति नलिई बोर्डिङ सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम कट्वाल र प्रिन्सीपल दुर्गा सुब्बा रहेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. २ निशंखेमा अनुमति नै नलिई बोर्डिङ विद्यालय सञ्चालन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका कटवाल सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित गुरुकुल एकेडेमीका सञ्चालक हुन भने सुब्बा बोर्डिङका प्रिन्सिपल हुन् ।

अनुमति नै नलिई कक्षा ४ सम्म निजी स्कुल चलाएर महंगो शुल्क लिएको भन्दै स्थानीयले उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । कट्वाल र सुब्बा विरुद्ध आइतबार म्याद थपेर अनुसन्धान सुरु गर्ने शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका बोर्डिङ सञ्चालक कट्वाल नेपाली कांग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य हुन् । प्रिन्सीपल सुब्बा लामो समय अन्य निजी स्कुलमा अनुभव बटुलेर यसै शैक्षिक सत्रदेखि गुरुकुल एकेडेमीमा आवद्ध भएका थिए । निजी विद्यालय सञ्चालनको विषय प्रहरीको नभई स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने भन्दै पक्राउ परेका दुवैलाई विनाशर्त रिहाई गर्न कांगे्रस ओखलढुङ्गाले माग गरेको छ । सञ्चालक र प्रिन्सीपल पक्राउ परेपछि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी अन्यौलमा परेका छन् ।

स्रोतका अनुसार कट्वालले सिद्धिचरण नगरपालिका–२ निशंखेमा गुरुकुल कम्प्युटर इन्स्टीच्युट दर्ता गरेका थिए । तर, उनले निजी विद्यालय चलाउन भने साविकको गाविसबाट पनि अनुमति लिएका थिएनन् । निजी विद्यालय सञ्चालनको पहिलो अनुमति स्थानीय तहबाट लिनुपर्ने प्रावधान छ ।