नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मोलुङ पुलका ठेकेदार पक्राउ, अन्य ठेकेदारहरुको भागाभाग

विएन/रामहरि श्रेष्ठ, जेठ २२ ओखलढुङ्गा । ओखलढुङ्गाका विभिन्न योजनाहरुको कामको जिम्मा लिएर पनि दशकौं सम्म काम नगर्ने ठेकेदारहरुलाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको निर्देशनमा ओखलढुङ्गा प्रहरीले पक्राउ गर्न थालेको छ । मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने मोलुङ खोलाको जलजलेमा बन्ने पुलको ठेक्का लिएर पनि काम नगर्ने ठेकेदार प्रतिनिधी रविन्द्र लामालाई पक्राउ गर्दै कार्बाहीको प्रक्रिया सुरु गरेको हो ।

मोलुङ पुलको ठेक्का लिएको पाँच बर्ष वितिसक्दापनि पुलको १० प्रतिशतसमेत काम पुरा नगर्ने ठेकेदारलाई ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको हो । जिल्लाको पश्चिमी क्षेत्रलाई जोड्ने मोलुङ खोलाको पक्की पुल निमार्णको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रविन्द्र लामालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको हो ।

मोलुङ खोलामा बन्ने उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरि २०७० साल असार ३० गते सम्झौता गरिएको भएपनि हालसम्म चार प्रतिशत पनि काम हुन सकेको छैन । ८० मिटर लम्बाई र ५ मीटर चौडाइमा निर्माण हुने पुलका लागि सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो ।

पुल निर्माणको सुरुवाती चरणमा नै केही समस्या देखिएको भन्दै पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ पु¥याईएको थियो । डिजाईन परिवर्तन सगै पुलको लागत रकम झण्डै दोब्बर बनाउदा पनि ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदार कारवाही प्रकृया सुरु गरेसँगै ठेक्का लिएरपनि काम नगर्ने ठेकेदारहरुको पसिना छुट्न थालेको छ । काम नगरी योजनाको काम अलपत्र पार्ने ठेकेदारहरु अहिले ओखलढुङ्गामा पक्राउ पर्ने डरले जिल्ला सदरमुकाम छाडेका छन् ।

ओखलढुङ्गामा पाँच वर्षभन्दा बढि समयदेखी ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी भवन, सडक, कुलो लगायतका पूर्वाधारहरु एक दर्जन भन्दा बढि ठेकेदारले अलपत्र छोडेका छन् । उनीहरुहरुलाई धमाधम प्रशासनमा झिकाई स्पष्टिकरण सोध्ने तथा कारवाही गर्न थालिएसंगै ठेकेदारहरुको भागाभाग सुरु भएको हो । केही दिन अगाडी मात्रै जिल्ला प्रशासन कार्यालयले काम अलपत्र पार्ने ठेकेदारहरुलाई तुरुन्तै कामको थालनी नगरे कार्बाही गर्ने चेतावनी दिएको थियो ।

गत बैशाख महिनामा सोच नेपालले सञ्चालन गरको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत मोलुङ गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको कार्यक्रमको अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय बासीले काम नगरी ठेकेदार भागेको बताएका थिए । भाग्ने ठेकेदारलाइ कार्बाही गरि पुल निर्माणलाइ निरन्तरता दिन समेत अनुगमन समितिसग स्थानीयहरुले अनुराेध गरेका थिए ।

अनुगमनमा सहभागी हुनुभएकी जिल्ला समन्वय समिति अाेखलढुङ्गाका सदस्य सुन्तला परियारले केही दिन अगाडी जिल्लाका सांसदहरुसग बसेर समयमा नै काम सक्ने बताएको ठेकेदार भागेको कुरा गम्भिर भएको बताउदै जिल्ला समन्वय समितिको बैठकमा आफुले उठाउने पनि बताउनुभएको थियो । रातारात सामान उठाएर फरार भएको ठेकेदार कम्पनीको गाडिले मोलुङ १ मा सञ्चालनमा रहेको लघुजलविद्युतको पोलमा क्षती गरेपछि ठेकेदार कम्पनी सामान उठाएर भाग्न लागेको थाहा भएको थियो ।

ठेकेदारलाई पक्राउ गरेको बारेमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पक्राउ नै गरेर कार्बाही गर्नुपर्नेको संख्या यती नै भनेर जानकारी नगराउने तर पक्राउ पछि भने धमाधम सबैलाई सार्वजनिक गर्ने बताउनुभयो । ‘ठेक्का लिएको लामो समयसम्म पनि काम नगरी राज्यलाई ठगीरहेकोहरुलाई कार्बाही गर्न थालिएको हो । मन्त्रालयको पनि कडाई निर्देशन छ । अब पनि समय दिने, माफी दिने समय हैन । अब त सिधै एक्शनमा उत्रने समय हो, ’ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो ।

ठेकेदारलाई पक्राउ गरी कार्बाही थालिएको थाहा पाएपछि स्थानीयबासीले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिएका छन् । एउटा ठेकेदारलाई मात्रै कार्बाही गरेर नपुग्ने भन्दै काम नगर्ने जिल्लाका अन्य ठेकेदारलाई पनि कार्बाहीको दायरामा ल्याउन माग गरेका छन् । पुर्वधारको ठेक्का लिएर अलपत्र छाडी भागी हिड्ने ठेकेदारको नाम कालोसुचिमा हाल्नुपर्ने स्थानीयको माग छ ।