नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सगरमाथा आरोहणमा कामीरिताको अर्को विश्व कीर्तिमान

ओखलढुङ्गान्युज, जेठ ३ सोलुखुम्बु । सगरमाथा आरोही सोलुखुम्बुका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो पटक सगै २२ औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएका हुन् ।

आरोहण सुरुवात गरेको चौथो दिन बुधबार बिहान ८ः३० बजे कामीरिताले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । २२ औं पटक सगरमाथाको सफल आरोहण गरेसगै यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी कामीरिताले तोडेका छन् ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा जन्मेका कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन् । उनले सन् १९९४ मे १३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहणको चौथो दिन बुधबार कामीरिता सगै एकैदिन झण्डै एक सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएका ९४ जनाले एकैदिन सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।