नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

जुत्ता नमिले खुट्टा ताछेर पनि लगाउनुपर्छ – प्रधानमन्त्री अाेली

ओखलढुङ्गान्युज, बैशाख १० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताउनुभएको छ । आईतवार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ओलीले भन्नुभयो, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं कि, जुत्ता मिलेन भने खुट्टा ताछतुछ गरेर पनि मिलाउनुपर्छ । यो बाहेक अब हाम्रा लागि अर्को बाटो नै छैन ।’

ओली भन्दा अगाडी बोल्नुभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकतावाट अब दायावाया कतैपनि गर्ने बाटो नभएको बताउनुभएको थियो । साथै जनताको अभिमतले दुईपार्टीका दुई अध्यक्षले नचाहेर पनि पनि पार्टी एकता हुने बताउनु भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डको विचारमाथि फरक विचार राख्दै एमाले अध्यक्ष ओलीले प्रचण्डले पार्टी एकताको विकल्प छैन भन्न खोजेको तर, सेन्टिमेन्टल कुरा गरेको भन्दै ओलीले भन्नुभयो, ‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्योएका छौं । हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो ।’
यद्यपि अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको भन्दै ओलीले एकता सफल पार्ने बताउनुभयो । पार्टी एकता सम्मान, समानता र सहमतिका आधारमा हुने प्रचण्डको मतमा सहमति जनाउदै एकताअघि केही सेन्टिमेन्टल कुराहरु आउने पनि बताउनुभयो ।
लेनिनको फोटो नराखेको भन्दै कार्यक्रमको सुरुमा भएको नाराबाजीतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘आज पनि अलिकतिमा दाँतमा ढुंगा लागेको छ ।’
सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जे पनि बोल्न थालेको आरोप लगाउनुभएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै ओली सरकार अधिनायकवादी बाटोतर्फ लागेको र उनीविरुद्ध पत्रपत्रिकाले पनि लेख्न डराएको आरोप लगाउनुभएको थियो । तर आइतबार ओलीले देउवाको भनाइप्रति लक्षित गर्दै सरकारले नागरिकको हितमा काम गर्न थालेको देख्न नसकेर देउवा छटपटिएको आरोप लगाउनुभयो ।

ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीका विरुद्ध त मिडिया लेख्न पनि डराउँछ बोल्दै बोल्दैन रे , पत्याउनुहुन्छ तपाइँहरु ? फेरि भन्न कसरी सक्या भन्या, नेपालका पत्रकारलाई यत्रो अपमान गर्न आँट कसरी आयो होला ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर मान्छेले गति नै छाडेपछि कस्को के लाग्छ र जे बोले पनि हुन्छ ।’