नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

एमाले–माओवादीको बिचमा आज ‘ऐतिहासिक’ घोषणा हुनसक्ने

ओखलढुङ्गान्युज, वैशाख ९ काठमाण्डौं । आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । प्रत्येक वर्ष बैशाख ९ गतेलाई नेपालका कम्युनिष्टहरुले आफ्नो स्थापना दिवस मनाउदै आएका छन् । स्थापना दिवसको अवसर पारेर आईतवार काठमाण्डौमा एमाले र माओवादीले संयुक्त रुपमा कार्यक्रम  गर्दैछन् । त्यही संयुक्त कार्यक्रमको अवसर पारेर आइतबार पार्टी एकताका विषयमा ‘ऐतिहासिक’ घोषणा हुनसक्ने दुवै पार्टीका नेताहरुले दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको संयुक्त कार्यक्रममा महत्वपूर्ण घोषणा गर्ने दुवै पार्टीका नेताहरुको दाबी छ । एमाले नेता कृष्णगोपाल श्रेष्ठले पनि आइतबार नै दुई अध्यक्षले वाम पार्टीको एकताका सन्दर्भमा ‘ऐतिहासिक’ घोषणा गर्ने तयारी रहेको बताउनुभयो । 

नेकपा माओवादीका नेता वर्षमान पुनले पार्टी स्थापना दिवसको अबसर पारेर पार्टी एकताको बारेमा महत्वपूर्ण घोषणा हुने बताउनुभयो । उहाँले एकताको तयारी गरिरहेका दुई पार्टीले छुट्टाछुट्टै कार्यक्रम गर्दा राम्रो सन्देश नजाने भएकाले प्राविधिक रुपमा दुई पार्टी भएपनि चाँडै एकता हुने सन्देश दिन संयुक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

आइतबार हुने संयुक्त कार्यक्रमलाई दुवै पार्टीका पार्टी एकता संयोजन समितिले आयोजना गरेको हो । राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रचण्ड र ओलीले सम्वोधन गर्नुहुनेछ ।